२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


विदेशीले बनाइदिए एक महिनामै पक्की अस्पताल, गाउँमा नाचगान(भिडियो हेर्नुहोस)


0
Shares

-प्रतीक लामिछाने, ईमेज

नुवाकोट, मंसिर ६ । गत वर्ष गएको भूकम्पको १८ महिना वितिसक्दा पनि भूकम्प प्रभावित जिल्लाका अधिकांश क्षेत्रका जनताले पुनस्र्थापनका लागि काम गर्न पाएका छैनन् ।

सरकारले दिने भनेको अनुदान समयमा नदिँदा प्रभावित जिल्लाका बासिन्दाले खुला आकाश मुनी त्रिपाल र जस्तापाताको सहारा लिन बाध्य छन् ।

के हिउँद के वर्षा ? अधिकांशको रात अहिलेपनि अस्थायी टहरा तथा पालभित्रै बितिरहेको छ । व्यक्तिको घर नै बन्न नसकेका ठाउँमा अस्पताल, विद्यालय जस्ता पूर्वाधार पुर्ननिर्माण त धेरै परेको विषय भयो ।

तर देशका कतिपय भूकम्प प्रभावित क्षेत्रमा विदेशी मनकारीहरुले विद्यालय भवनदेखि अस्पतालसम्म बनाएर आम जनताको मन मात्रै जितेका छैनन्, सरकारलाई गतिलो पाठ समेत पढाइरहेका छन् ।

प्राकृतिक प्रकोपबाट निम्तिएको पीडारुपी घाउमा मल्हम लगाउन सरकार आउँछ कि भन्ने आशामा १८ महिना गुजारेका नुवाकोट तारुकाका स्थानीय अहिले पनि अस्थायी टहरोमै दिनरात कटाइरहेका छन् ।

तर त्यही गाउँका जनताको पीडा र दुःख देखेरै केही विदेशी मनकारीले केही समयदेखि निरन्तर रुपमा तारुकाका विभिन्न वडामा अस्पताल र विद्यालय निर्माण गरिरहेका छन् ।

स्वीट्जरल्याण्डका नागरिक बेनहर्ड बुल्हर नेतृत्वका १३ जना विदेशी प्राविधिकको टोलीले करीब एक महिनामै तारुकाको वडा नम्बर १ मा चार कोठे पक्की अस्पताल बनाएपछि स्थानीय अचम्ममा परेका छन् ।

१९/१९ महिनासम्म दिन्छु दिन्छु भनेर झुलाउने सरकार, पाउँला र बनाउँला भनेर आशामा बस्ने जनताका अगाडि बुलहर नेतृत्वको टोलीको काम अत्यन्तै लोभलाग्दो र प्रेरणादायी छ ।

निरन्तर एक महिनासम्म आफैं कामदार बनेर अस्पताल बनाउने आफूलाई सहयोग गर्ने गाउँलेलाई दिनगन्ती ज्याला दिएर मावनीय धर्म पूरा गरेका छन् ।

विदेशीले गाउँमा भूकम्प प्रतिरोधी पक्की अस्पताल बनाईदिएपछि अकालमा ज्यान जाने भयो भन्ने चिन्ताबाट तारुकाबासी मुक्त देखिन्छन् ।

तारुकामा निर्माण भएको गौरा पार्वती सामुदायिक अस्पताल उद्घाटनमा पुगेका शहरी विकासमन्त्री अर्जुननरसिंह केसीसँग हामीले एउटा व्यक्तिले चाह्यो भने यत्रो संरचना एक महिनामै बन्ने रहेछ नि त भनेर सोध्धा, उनले कामको प्रशंसा गरेका थिए ।