
विशाल नेम्वाङ (इमेज)
झापा, मंसिर ६ । झापा–११ लाई ‘टाइब्रेकर’मा ५–४ गोलले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ टिम झापामा जारी सहारा–सुरुंगा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कनकाई माविको मैदानमा सोमबार भएको खेलमा निर्धारित् ९० मिनेटमा दुबैतर्फबाट गोल नभएपछि ३० मिनेट समय थप गरिएको थियो ।
थपिएको समयमासमेत गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टीमा सशस्त्रका अन्जन विष्ट, नवीन लामा, आदित्य चौधरी, मिलन राई र पासाङ लामाले गोल गरे ।
त्यस्तै, झापाका लागि योगेश गुरुङ, रवी थापामगर, दिलेन लोक्तान र रञ्जित श्रेष्ठले गोल गरे भने देवेन्द्र तामाङ गोल गर्नबाट चुक्दा झापाले हार बेर्होनुपर्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सशस्त्रका अन्जन विष्ट ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गत् मंगलबार मनाङ–मर्स्याङ्दी क्लब र संकटा क्लब भिड्नेछन् ।
आठ टोली सहभागी प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १११ र उपविजेताले २ लाख ५१ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्