२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


सुरुङ्गा गोल्डकपमा मनाङ मस्र्याङ्दी र संकटा क्लब भिड्ने


0
Shares

झापा, मंसिर ७ । झापामा जारी सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मस्र्याङ्दी र संकटा क्लब भिड्ने भएका छन् ।

यो खेलपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा हुनेछ । यसअघि हिजो भएको खेलमा झापा–११ लाई टाइबे्रकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको मैदानमा भएको खेलमा दुवैतर्फबाट गोल नभएपछि ३० मिनेट समय थप गरिएको थियो ।

थपिएको समयमा समेत गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइबे्रकरबाट लिइएको हो । टाई ब्रकेरमा एपीएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र पासाङ लामाले गोल गरे ।

झापाका योगेश गुरुङ, रवी थापा मगर, दिलेन लोक्तान र रञ्जित श्रेष्ठले गोल गर्दा देवेन्द्र तामाङ गोल गर्नबाट चुकेका हुन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपीएफका रञ्जन विष्ट म्यान अफ द म्याच घोषित भए ।