काठमाडौं, मंसिर ७ । काठमाडौंको बौद्धमा रहेको भूकम्पबाट क्षतिग्रस्त भइ पुनःनिर्मित बौद्ध महाचैत्यको मंगलबार उद्घाटन गरिएको छ ।
पुनःनिर्मित महाचैत्यको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले बौद्ध महाचैत्यको पुनःनिर्माण सम्पन्न हुनुले भूकम्पप्रभावित अरु क्षेत्रको पुनःनिर्माणका लागि पनि प्रेरणा मिलेको बताए ।
महाचैत्यको जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न भएको अवसरमा गरिएको कार्यक्रममा उनले इच्छाशक्ति भयो भने समयमा ठूला काम सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश यसले दिएको बताए ।
विश्व सम्पदा सूचीमा रहेको यस ऐतिहासिक सम्पदा जनस्तरको सहयोग र दान–चन्दाबाटै जिर्णाेद्वार र पुनःनिर्माण गरिएको हो ।
बौद्धनाथ क्षेत्र विकास समितिको अग्रसरतामा २०७२ माघ २८ गतेदेखि सुरु भएको महाचैत्यको पुनःनिर्माणमा विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त २० करोड ९० लाखसहित २३ करोड रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।
बौद्धमार्गीहरुको आस्थाको केन्द्र बौद्ध महाचैत्यको उद्घाटनमा सर्वसाधारण, बौद्ध भिक्षु, श्रीलंका, म्यानमार, लाओस, भियतनाम, थाइल्यान्डलगायत दातृमुलुकका कूटनीतिक प्रतिनिधिको सहभागिता थियो ।
उद्घाटनअघि महाचैत्यमा शुक्रबारदेखि तीन दिनसम्म शुद्धीकरण, चैत्यको प्राणप्रतिष्ठा तथा बौद्ध परम्पराअनुसारका पाठलगातयका काम गरिएको थियो ।
पाँचौं शताब्दीमा निर्मित यस महाचैत्य विश्व सम्पदा सूचीमा सूचीकृत छ ।





प्रतिक्रिया दिनुहोस्