
-हिमाल पौडेल, ईमेज
काठमाडौं, मंसिर ८ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आगामी दशैंमा उपत्यकावासीलाई वितरण गर्ने गरी काम भइरहेको छ ।
सिन्धुपाल्चोकको मेलम्चीबाट २६ दशमलब ५ किलोमिटरको सुरुङ्गमध्ये हालसम्म २१ किलोमिटर सुरुङ्ग खनिएको छ भने बाँकी काम सकाएर आगामी दशैंसम्ममा उपभोक्ताको धारामा पानी खसाल्ने तयारीमा मेलम्ची खानेपानी विकास समिति जुटेको छ ।
आर्थिक वर्ष २०५८/५९ मा काम सुरु गर्दा पाँच वर्षमा उपभोक्ताको घरमा पानी पुर्याउने लक्ष्य लिएको मेलम्ची परियोजना १५ वर्षपछि बल्ल काम सकाउने लक्षण देखिएको हो ।
१५ वर्षअघि काम सुरु गर्दा २०६५ सालभित्र उपभोक्ताको घरमा पानी खसाल्ने योजना सरकारको थियो । तर काम सकाउन तीन/तीन पटक त परियोजनाको लक्ष्य नै संशोधन गर्नुपर्यो ।
२०७३/७४ भित्र काम सकाइने पछिल्लो संशोधन अनुसार आउँदो दशैंमा उपत्यकावासीको धारामा मेलम्चीको पानी झार्ने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक धनश्याम भट्टराई बताउँछन् ।
पानी भित्र्याउने मूल्य आधार मानिएको सुरुङ्गमार्गको बाँकी काम आउँदो ८ महिनाभित्र सम्पन्न गरिने प्राविधिकहरुले बताएका छन् ।
प्रशोधित पानी वितरणका लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण पनि तीब्र गतिमा भईरहेको छ । केन्द्रको काम ९५ प्रतिशत सम्पन्न भईसकेको समितिले जनाएको छ ।
प्रशोधनका लागि आवश्यक मेसिन जडान गर्ने काम पनि भइरहेको छ । इन्जीनियर बर्मलाल राजभण्डारीले जानकारी दिए । मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउनेछ ।
यसले मात्रै उपत्यकावासीलाई पानी पर्याप्त नहुने भएकाले दोस्रो चरणमा आयोजनादेखि १२ किलोमिटर पर रहेको याङ्दी र ल्यार्के नदीको पानी पनि मिसाइने छ । यो योजना पूरा हुन भने सन् २०२२ सम्म कुर्नुपर्ने छ ।
त्यतिबेला भने अहिलेकोभन्दा ठीक डबल अर्थात् दैनिक ३४ करोड लिटर पानी उपत्यकामा झर्ने छ ।
अहिले नै दैनिक ३७ करोड लिटर हाराहारीमा माग रहेको उपत्यकामा जम्मा १५ करोड लिटर मात्र पानी वितरण भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।
समग्रमा ८५ प्रतिशत काम सकिएको परियोजनाबाट आगामी दशैंमा उपभोक्तालाई मेलम्चीको पानी उपहार दिन कामको गति अझै बढाउनु आवश्यक देखिन्छ ।
१५ वर्ष अगाडी काम सुरु गर्दा करिब २५ अर्बमा सकाउने लक्ष्य रहेको परियोजनाको लागत भने उपभोक्ताको धारामा पानी खस्दा चार अर्बले बढेर करीब २९ अर्ब हाराहारी पुग्ने आयोजनाले जनाएको छ ।
काकाकुल काठमाडौंलाई मेलम्चीको पानी खुवाउने सपना २०४६ को परिवर्तनपछि मात्र बाँडिएको होइन, त्यसअघि पञ्चायत व्यवस्थामै पनि पानी काठमाडौं ल्याउनेबारे अध्ययनहरु भएका थिए ।
तर कांग्रेस नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु भनेपछि भने यो परियोजना बढी चर्चामा आयो ।
राजनीतिक हस्तक्षेप, व्यवस्थापकीय कमजोरी, ठेकेदारको लापरवाही जस्ता कारणले झण्डै दुई दशक ढिलो भएको मेलम्चीले आगामी दशैंमा उपभोक्ताका मुखमा पानी पुर्यायो भने पनि ठूलै राहत मान्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्