काठमाडौं, मंसिर ८ । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले प्रतिस्पर्धात्मक बजारमा ग्राहकको मन जित्न राष्ट्रिय वाणिज्य बैंकले थप प्रयत्न गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट ब्रान्चको उद्घाटन कार्यक्रममा मन्त्री महराले २१ औं शताब्दीमा बैकिङ्ग सेवालाई जनताको घरदैलोमा पुर्याउने सरकारको कार्यक्रमलाई यस बैंकले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
उनले ग्रामीण क्षेत्रमा कर्जा विस्तार गर्न बैंक सञ्चालन सम्बन्धी निर्देशन पनि दिए ।
राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बढ्दै गएको प्रतिस्पर्धी वित्तीय प्रणालीमा यस बैंकले आधुनिक वित्तीय उपकरण र सूचना प्रविधिको उपयोगमा जोड दिनुपर्ने बताए ।
संस्थागत कार्यक्षमतामा समयानुकूल सुधार गर्दै लगानीका क्षेत्र पहिल्याएर कर्जा लगानीमा बैंकले थप जोड दिनुपर्ने उनले जोड दिए ।
सञ्चालक समितिका अध्यक्ष डा. रविन्द्र पाण्डेले छिमेकी देश भारत र चीनमा शाखा खोल्ने सोच बनाएको एवं सहायक कम्पनीहरु लघुवित्त संस्था र आर.वि.वि. मर्चेन्ट बैंकिङ्ग लिमिटेड संचालन गर्ने दिशामा काम अगाडि बढेको जानकारी दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ७५ वटै जिल्लामा बैंकको सेवा विस्तार गरि शाखा संख्या १९५ वटा पुर्याउने बताए ।
उनले चालू आर्थिक वर्ष भित्रै २५ लाख ग्राहक संख्या पु¥याउने, ६० प्रतिशतभन्दा बढी रहेको निस्क्रिय कर्जालाई २.५ प्रतिशतमा झारिने र खुदमुनाफा ३ अर्व रुपैयाँ पु¥याउने लक्ष्य रहेको बताए ।





प्रतिक्रिया दिनुहोस्