४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


यो देश ऋषिमुनिको तपोभूमि हो : राष्ट्रपति भण्डारी


0
Shares

वीरगन्ज, मंसिर ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छन् ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्ने बताइन् । योगको महत्वलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले पनि राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद चिकित्सा पद्धतिमा आधारित यो विद्याले मानिसको जीवनलाई स्वस्थ बनाउने उल्लेख गरिन् ।

उनले भनिन्, ‘यो देश ऋषिमुनिको तपोभूमि हो र वैदिक शास्त्रले पनि यसलाई मानेको छ ।’ योग शिक्षाले जीवन स्वच्छ र शान्त बनाउने भएकाले यसको विकासमा जोड दिनुपर्दछ भन्दै राष्ट्रपति भण्डारीले योग शिविरले स्वस्थ र शान्त वीरगन्ज देओस् भन्ने कामना पनि गरिन् ।

सोही अवसरमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध देशको नागरिक बन्ने हामी सबै नेपालीको चाहना भएकाले कसरी नेपाललाई समृद्ध देश बनाउने भन्नेतर्फ सोच्नु आजको आवश्यकता भएको बताए ।

सो अवसरमा स्वामी रामदेव, आचार्य बालकृष्ण, भारतीय राजदूत रणजीत राय, रुसी राजदूत आन्द्रेई सेरगेयेभिच वुद्निक, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

सो अवसरमा स्वामी रामदेवले राष्ट्रपति भण्डारीलाई दोसल्ला ओढाई सम्मान पनि गरेका थिए ।

विहान ५ः२३ बजे उदघाटन भएको शिविरमा पाँचहजारभन्दा बढी मानिसको सहभागिता थियो । शिविरमा स्वामी रामदेवले योगाभ्यास गराएका थिए । (रासस)