Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


किसानले भैँसी सुत्केरी भत्ता पाएनन्


0
Shares

बैतडी, मङ्सिर ११ । नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् ।

सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई भैंसी सुत्केरी भत्ता दिने घोषणा गरेको भए पनि बैतडीका कुनै पनि कृषकले भैँसीको बिमा नगराउँदा भैंसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका हुन् ।

यस जिल्लामा थुप्रै भैँसीपालक किसान रहेपनि अहिलेसम्म कसैले पनि बिमा गराएका छैनन् ।

नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले भैँसीको पशु बिमा गराएका किसानलाई सुत्केरी भत्तावापत प्रतिभैँसी रु दुई हजार ५०० उपलब्ध गराउने गरेको छ ।

किसानले पशु बिमा गर्दा २५ प्रतिशत रकम मात्र तिर्नुपर्ने र अरु ७५ प्रतिशत रकम नेपाल सरकारले तिर्ने व्यवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले बताए ।

“किसानलाई पटकपटक पशु बिमाका लागि आग्रह गर्‍यौँ तर पनि अहिलेसम्म जिल्लाका एउटा पनि किसानले पशु बिमा गराएका छैनन्” उनले भने “किसानले भैँसीको एक रु लाखसम्मको बिमा गरेको छ र भैंसीको कारणवस मृत्यु भयो भने बिमा कम्पनीले ९० हजार दिने प्रावधान छ ”

भैंसी सुत्केरी भत्ता पाउनका लागि भैँसी ब्याएको दुई महिनाभित्र निवेदन दिनुपर्ने, सम्बन्धित पशु सेवा केन्द्रको सिफारिस हुनुपर्ने र पशु बिमा गरिएको हुनुपर्ने प्रावधान छ ।

तर बैतडीमा कुनै पनि किसानले भैँसीको बिमा नगरेकाले किसानले भैंसी सुत्केरी भत्ता नपाएको समेत डा. नवीन घिमिरेले जानकारी दिए ।

जिल्लाका धेरै किसान पशु बिमाको बारेमा अझै पनि अनविज्ञ रहेका छन् । जनचेतनाको अभाव र बिमाको पूरा प्रक्रियाको बारेमा थाहा नभएका कारण अहिलेसम्म बिमा नगराएको श्रीकोटका किसान हेमराज गिरीले बताए । उनले भने “किसानलाई बिमाको प्रक्रियाबारे थाहा छैन ”

सरकारले पशु बिमामा ७५ प्रतिशत अनुदान दिएको भए पनि किसानको यसतर्फ आकर्षण नहुँदा बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट भैंसीको मासुको मूल्यमा तराईलगायत राजधानीतिर निकासी हुने गरेको स्थानीय किसानको भनाइ छ ।

भैंसीमा विभिन्न किसिमका रोगको सङ्क्रमण हुनु, खरघाँसको पर्याप्त व्यवस्था नहुनु र भैँसीमा बाँझोपनको समस्या हुनुलगायतका कारणले भैंसी निकासी बढेको स्थानीय भैँसीपालक किसानको भनाइ रहेको छ ।

भैंसीहरु निकासी हुन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा भैंसी लोप हुँदै गएका छन् । रासस