२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


जिप दुर्घटनामा सात जनाको मृत्यु, १८ जना घाइते


0
Shares

परासी, मंसिर १२ । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा डाँडाझेरी छरछरेका समन्ती बाचे, खिमबहादुर बाचे, लोकबहादुर बाचे, दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे र किशन बाचे रहेका छन् । मृतक एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग १ ज ३६३२ नम्बरको जिप दुर्घटना भएको हो ।

बुलिङ्टार चौकीमा गाउँको झगडाको विषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन् । सडकबाट करिब २ सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ ।

पहाडी भू–भाग भएकाले दुर्घटनालगत्तै घाइतेको उद्धार गर्न कठिनाइ भएको छ । आज बिहान मात्र घाइतेलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याइएको छ ।

एउटै गाउँका मान्छेहरु दुर्घटनामा परी ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको छ । जिप चालकसमेत गम्भीर घाइते भएका छन् । दुर्घटनास्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ । (रासस)