
क्यूवा, मंसिर १२ । सन् १९५८ मा क्यूवामा भएको राजनीतिक परिवर्तनपछि शासन सत्ता सम्हालेका फिडेल कास्ट्रोलाई क्यूवाका जनताले राष्ट्रवादी नेता मान्ने गरेका छन् । उनले मुलुकलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराई आत्मनिर्भर तुल्याएकोमा क्यूवाली जनताका नजरमा उनी राष्ट्रवादी नेता भएका हुन् ।
अमेरिका लगायतका केही मुलुकले कास्ट्रोलाई निरंकुश र तानाशाह भन्ने गरेको छ । यद्यपि क्यूवाली जनता कास्ट्रोलाई महान नेता मान्छन् । आखिर किन ?
राष्ट्रपति बन्नासाथ फिडेल कास्ट्रोले अमेरिका विरोधी नीति अघि सारे । किनकी अमेरिकाले कास्ट्रोको नेतृत्वमा क्यूवामा भएको क्रान्तिलाई रुचाएको थिएन । अमेरिकाले फिडेल कास्ट्रोलाई समर्थन गरेन । दुबै मुलुकले परम्पर विरोधी नीति अपनाउँदै गए । अमेरिकाले क्यूवामाथि विभिन्न प्रकारका प्रतिबन्ध लगायो । तर कास्ट्रो विचलित भएनन् ।
त्यतिबेला पेट्रोलियम पदार्थका लागि क्यूवा पूर्ण रुपमा तत्कालिन सोभियत संघसँग निर्भर थियो । दुबै मुलुक अमेरिकाको दुश्मन थिए । तर सन् १९९१ मा सोभियत संघ विघटन भएपछि भने क्यूवा फेरि संकटमा प¥यो ।
सोभियत संघबाट छुट्टिएका केही मुलुक अमेरिकाको समर्थक बने । ती मुलुकले अमेरिकाको इशारामा क्यूवालाई पेट्रोलियम आपूर्ति बन्द गरिदिए ।
रुससँग त्यति पर्याप्त पेट्रोलियम थिएन कि क्यूवाको माग धान्न सकोस् । यस्तो अवस्थामा कास्ट्रोले आफ्नै जनतासँग सहयोग मागे ।
उनले जनतालाई छोटो दुरीमा यात्रा गर्नका लागि साइकल प्रयोग गर्न आग्रह गरे । उनले चीनबाट करिब अढाइ लाख साइकल ल्याए ।
यस अतिरिक्त बस र ट्रकको लम्बाई बढाएर यात्रु तथा सामान ढुवानी क्षमता बृद्धि गरे । पहिला ३० यात्रु बोक्ने बसलाई लामो बनाएर ५० भन्दा बढी यात्रु बस्न सक्ने तुल्याए ।
ग्रामिण क्षेत्रमा गोरु, घोडा, उँट जस्ता जनावरलाई पनि यातायातका लागि प्रयोग गराए । यसबाट क्यूवामा इन्धनको मागमा निकै कमी आयो । करिब दुई वर्षमै उनले क्यूवालाई इन्धन संकट झेल्न सक्ने अवस्थामा पु¥याए ।
अमेरिकाले क्यूवामाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाएको थियो । अमेरिकाको समर्थक रहेका विश्वका विभिन्न मुलुकले ती प्रतिबन्धको पालना गर्दैक्यूवासँगको व्यापारिक सम्बन्ध तोडे । यसबाट क्यूवामा खाद्य पदार्थको कमी भयो ।
कास्ट्रोले यसबाट पनि मुलुकलाई उकास्ने उपाय निकाले । ‘हरित क्रान्ति’ का नाममा उनले बाँझो जमिनमा खेती गर्न लगाए । जैविक खेतीमा उनले जोड दिए । केही वर्षमै क्यूवाले खाद्य पदार्थको उत्पादन दोब्बर तुल्यायो । आज मुलुकको आवश्यकताको तुलनामा क्यूवाले तीन गुणा बढी अन्न र तरकारी उत्पादन गर्दछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्