२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


प्रहरीलाई ‘बदनाम’ गराउन यस्तो चलखेल, सधैं राजनीतिक तारो(भिडियो हेर्नुहोस)


0
Shares

-गृष्मा राजभण्डारी, ईमेज

काठमाडौं, मंसिर १२ । शान्ति सुरक्षाको सन्दर्भमा जनताको साथी मानिने प्रहरी संगठन बिभिन्न कालखण्डमा राजनीतिक हस्तक्षेप र संगठनभित्रैका अपारदर्शी खेलका कारण पटक पटक बिबादमा मुछिने गरेको छ ।

पछिल्लो पटक पनि यस्तै स्वार्थी केन्द्रहरुको चलखेल सुरु भएको खबरहरु सार्वजनिक हुन थालेको छ । उसोत प्रहरी संगठन विभिन्न नाममा जनताकै बीचमा पनि आलोचित नबनेको भने होइन ।

२०४६ सालको बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भएको आन्दोलन दबाउन तात्कालीन पञ्चायती शासकले प्रहरीको दुरुपयोग गर्दा यो संगठन जनताबीचमा आलोच्य बन्न पुगेको थियो ।

‘चेन अफ कमाण्ड’मा चल्ने संगठन प्रजातन्त्र बहालीपछि भने राजनीतिक दलले आफूनुकूल चलाउन खोज्दा बदनाम गरियो ।

प्रधानमन्त्री र गृहमन्त्री हुने दलले प्रहरीलाई आफ्नो दलीय स्वार्थपूर्तिका लागि प्रयोग गर्दा संगठनको विश्वसनीयता माथिनै प्रश्न उठेको हो । र यो क्रम अद्यापि कायमै छ ।

अझ लाठी र भरुवा बन्दुकका भरमा लामो समय माओवादी सशस्त्र हिंसाको प्रतिरोध गर्ने काममा पनि प्रहरीलाई नै खटाइँदा थुप्रै प्रहरीको सहादत भयो । बिना तयारी उसलाई यो जिम्मेवारी दिँदा प्रहरीभित्र ठूलो मानवीय क्षति भएको मान्नेहरु थुप्रैं छन् ।

सशस्त्र हिंसाको बैठानपछि संगठनलाई चुस्त, दुरुस्त र अनुकरणीय बनाउने अवसर संगठनको नेतृत्व सम्हाल्नेहरुलाई प्राप्त थियो तर राजनीतिक नेतृत्वको आडमा तिनको र आफ्नै स्वार्थको रोटी सेक्न खोज्दा संगठनका नेतृत्व गरेका आईजीपीहरु नै मुद्दा खेप्न बाध्य भए ।

जसको पीडाबाट प्रहरी संगठन अझैपनि मुक्त हुन सकेको छैन । यही बीचमा आफ्ना अग्रजहरुले पाएको चौरासी हण्डर देखेको र भोगेको पुस्ता नेतृत्वमा पुग्यो ।

प्रहरी संगठनले आफ्नो छबीमा परिवर्तन ल्याउने आशा धेरैमा थियो । केही हदसम्म अहिलेको नेतृत्व र उ मुनीका योग्य अधिकृतहरुले त्यसको आभास दिएका पनि थिए ।

तर यहीबीचमा फेरि महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई हटाउने भित्री खेलमा स्वार्थ केन्द्रहरु लागेको खबरले प्रहरी संगठनभित्र अस्थीरता मच्चाएर स्वार्थको रोटी सेक्न खोज्नेहरु हावी हुन खाजेको हो कि भन्ने आभास हुन थालेको छ ।

आफूनुकूल नचलेका नाममा सरकारमा पुग्नेहरुले महानिरीक्षक फेरबदल गर्ने र क्षणिक स्वार्थका लागि नेतृत्व बदल्न सघाउने संगठनभित्रकै पात्र र प्रवृत्तिले प्रहरी संगठनलाई थला बसालेको अनुभव सुनाउँदै चिन्ता ब्यक्त गर्नुहुन्छ, पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंह ।

जारी शान्ति प्रक्रिया टुंगोमा पु¥याउन तथा त्यसपछिका विभिन्न खाले आन्दोलनमा सरिक भई दोषी आरोपितको मुद्दा राजनीतिक आवरणमा फिर्ता लिने सरकारी तयारीमा नसघाएको भन्दै प्रहरी नेतृत्व परिवर्तन गर्न खोजिएको दावी गरिएको छ ।

त्यस्तोमा संगठनको नेतृत्वलाई सघाउनुको साटो क्षणिक लाभका लागि राजनीतिक स्वार्थको गोटी बन्न प्रहरीभित्रकै केही अधिकृत लागेको आरोप पनि सँगै सार्वजनिक भएका छन् ।

यदि यस्तो खेल गरिए र संगठनभित्रकै मातहतका अधिकृत संलग्न भए त्यसले प्रहरीमा ठूलो क्षति पुग्ने भन्दै चेन अफ कमाण्ड लत्याउनेलाई कार्वाही गर्नुपर्ने पूर्व प्रहरी महानिरीक्षक सिंह बताउँछन् ।

अझ संगठनमा लामो समयसम्म असर पुग्ने गरी सेवाअवधिमै परिवर्तन गरेर आफू अनुकूलको नेतृत्व भित्र्याउने खेलले हालका महानिरीक्षक अर्यालपछिको दुई ब्याज नै नेतृत्वमा जान नदिने षडयन्त्र बुनिएकोसमेत प्रहरी अधिकारीहरु नै बताउँछन् ।

यद्यपि, पछिल्लो समय सञ्चारमाध्यमहरु समेतको खवरदारीका कारण नियम नै परिवर्तन गरी नयाँ नेतृत्व स्थापित गर्ने खेल भने केही साम्य भएको बताइएको छ ।

तर महानिरीक्षक अर्याललाई अख्तियार प्रमुख लोकमानसिंहको मतियार बनेको आरोप लगाउँदै खबरहरु सार्वजनिक गरिएपछि स्वयं महानिरीक्षक अर्यालले नै प्रहरीले आयोजना गरेको एक कार्यक्रममा असन्तुष्टी जनाउँदै संगठनको एकता र अनुशासनमा खलल पर्ने गतिविधिमा नलाग्न मातहत दर्जालाई निर्देशन दिएका थिए ।

यसले पनि प्रहरी संगठनलाई अस्थीर बनाइ स्वार्थको रोटी सेक्नेहरुको गतिविधि नरोकिएको र यसमा संगठनभित्रैबाट पूठ दिइएको प्रष्ट हुन्छ ।

जेहोस्, जनताको शान्ति सुरक्षा र अमनचयनमा दत्तचित्त भएर लागि अपराध नियन्त्रण गर्नुपर्ने संगठनलाई राजनीतिक वा अरु स्वार्थ केन्द्रबाट भयको अवस्थामा राख्दा त्यसले अपेक्षित परिणाम दिँदैन ।

यसतर्फ राज्य सञ्चालक र स्वयं संगठनभित्रैका अधिकृतहरुले पनि ध्यान दिनु अपरिहार्य छ ।