२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


९२ वर्षको उमेरमा साइकल चढी सरर


0
Shares

मोरङ, मंसिर १३ । ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला ? तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ, लौरोको साहारामा भित्र–बाहिर गर्छ अथवा छोरा वा नातिको साहारामा बाँचीरहेको हुन्छ ।

तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ । वृद्धमध्येका सुनाम एक अपवाद वृद्ध सावित भएर देखाएका छन् । आफ्नो जीवनको उत्तरार्द्धमा दैनिक जीवनमा आइपर्ने घरायसी काम साइकल चढेर फत्ते गर्छन् ।

उनी साइकल चढेर हाट–बजार गर्छन् । उनले २५ वर्षको उमेरमा साइकल चढेका हुन् । घरमै आराम गरेर समय कटाउन, धार्मिक पुस्तक पढ्न र पारिवारिक भेटमा मात्र व्यस्त रहन उनलाई घर परिवारले आग्रह गर्छन् । तर उनी मान्दैनन् । गाउँ वरपर हुने सभा सम्मेलनमा पुगिहाल्छन् उनी । यो उमेरमा साइकल कुदाएको देखेर जो कोही आचश्र्यचकित हुने गरेका छन् । ‘घरमा बसिरह्यो भने खुट्टा दुख्छ, जीउ कट्कटी खान्छ त्यसैले साइकल कुदाउँछु,’ उनले भने ।

सुनामका अनुसार साइकल कुदाएर डुल्यो भने वरपर के भइरहेको छ थाहा पनि हुन्छ । शरीर तन्दुरुस्त पनि हुन्छ । साइकल सरर कुदाएको हेर्दा जो कोही छक्क पर्ने गरेको सुनामको अनुभव छ । अचेल सवारीसाधनको चाप उच्च हुँदै गएपछि ९२ वर्षीय सुनाम साइकल र पदयात्रीका लागि अलग्गै सडक पेटी बन्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, ‘सडक विस्तार भएको छैन । तर यातायातको साधन र जनसङ्ख्या बढेको बढ्यै छ । यस्तो अवस्थामा हामीजस्ता पाका साइकलयात्रीलाई दुर्घटनाको जोखिम बढेको छ ।’

भोजपुर खावा–३ मा जन्मिएका सुनाम २०३५ सालमा उर्लाबारी झरेका हुन् । सकुञ्जेल साइकल कुदाइरहने उनको भनाइ छ । ‘साइकल मेरो साथी हो, नकुदाइ बस्न सक्दिन । आँट भएसम्मको ठाउँ पु¥याउन मद्दत गर्छ,’ उनले भने । हालसम्म उनले एक दर्जन साइकल फेरिसकेका छन् । (रासस)