२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


न्यूनचापीय प्रभावले मौसममा खराबी, पूर्वी भेगमा वर्षात् हुनसक्ने


0
Shares

                                                                       फाइल फोटो
काठमाडौं, मंसिर १३ । न्यूनचापीय क्षेत्रको प्रभावले नेपालको मौसममा पनि खराबी देखिएको छ ।

सतहदेखि १.५ किलोमिटर माथिसम्म न्यूनचापीय क्षेत्र विकास भएकाले खासगरी देशका पूर्वी र मध्य भेगमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र मध्यका पहाडी भागमा सामान्य बदली तथा पूर्व र सुदूरपश्चिमका तराई भेगमा सामान्य कुइरो लागेको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी दिइन् ।

मौसममा बदली भएकाले सोमबार उपत्यकासहित देशभर केही चिसो महसुस गरिएको छ ।

मौसमविद् कँडेलका अनुसार आकासमा बादल लागेपछि न्यूनतम् तापक्रम बढे पनि अधिकतम् तापक्रम घटेकाले केही चिसो बढेको छ ।

पूर्वी पहाडका केही स्थानमा साँझपख छिटफुट वर्षात् हुने सम्भावना छ ।

‘पोष्ट’ मौसम सिजनको अन्त्य र चाँडो मौसम ‘विन्टर’ सिजनको सुरुआती चरण भएकाले पनि चिसो बढेको उनले उल्लेख गरिन् ।

नेपालमा सामान्यतः जाडो मौसम डिसेम्बरदेखि फेब्रुअरीसम्म मानिन्छ ।

मध्यमाञ्चलसँग जोडिएका छिमेकी जिल्लामासमेत बदली भएको छ । यो प्रणाली अझै एक/दुई दिन जारी रहने बताइएको छ ।

महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम ९.५ र अधिकतम् तापक्रम २२.४ रहेको छ । रासस