Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


ढल्केबर सवस्टेसनको काम सम्पन्न हुँदै, थप ८० मेगावाट विद्युत् आउँदै


0
Shares

                                                                              फाइल फोटो
रमेश लम्साल (रासस) 

काठमाडौं, मंसिर १३ । बहुप्रतिक्षित एवं महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ ।

हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनमार्फत् हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस्टेसन निर्माण सक्नैपर्ने बाध्यता छ ।

भारतको मुजफ्फरपुरबाट जोडिएको चार सय केभिएको अन्तर्देशीय प्रसारण प्रणाली र त्यसैगरी ढल्केबरबाट खिम्तीसम्म जोडिने अर्को २२० केभिएको प्रसारण प्रणाली पनि सोही सवस्टेसनमा जोडिने भएकाले सो आयोजना महत्वपूर्ण मानिएको हो ।

ढल्केबर हेटौंडा प्रसारणलाइन र ढल्केबर दुहवी प्रसारणलाइनको पनि मुख्य बिन्दु पनि सोही सवस्टेसन हो । ती दुबै प्रसारणलाइन चार सय केभिए क्षमताका छन् ।

धनुषा, महोत्तरी, सर्लाहीसम्म विद्युत् उपलब्ध गराइरहेको १३२ केभी क्षमताको प्रसारणलाइनसमेत सोही सवस्टेसनमा जोडिएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले सवस्टेसनको काम सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए ।

काममा दृढ इच्छाशक्ति भयो भने दुई वर्ष लाग्ने काम चार महिनामा नै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण नै सो परियोजना हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जामन्त्री जनार्दन शर्माको विशेष चासोका कारण सो आयोजना एक महिना ढिला गरेरै भएपनि सम्पन्न हुन लागेको हो ।

वि.सं. २०७२ मा सम्पन्न गर्नुपर्ने सो सवस्टेसन ठेकेदार कम्पनी र प्राधिकरणको उच्च नेतृत्वको लापरबाहीका कारण तोकिएको समयमा पूरा हुन सकेको थिएन ।

गत भदौमा ऊर्जामन्त्री शर्मासहितको टोलीले चार महिनाभित्र सवस्टेसनको काम सम्पन्न नभए ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिएपछि ठेकेदार सेन्ट्रल चाइना पावर ग्रीड इन्टरनेसनल इकोनोमिक कम्पनी (सीसीपीजी)ले तत्कालै काम सुरु गरेको थियो ।

माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनामा काम गरिरहेका चिनियाँ र नेपाली गरी २०० भन्दा बढी मजदुरलाई नियमितरुपमा परिचालन गरेपछि आयोजनासम्पन्न हुने चरणमा पुगेको प्रवक्ता अधिकारीको भनाइ छ ।

परियोजनाको हाल सवस्टेसन रहने भवन, ठूला क्षमताको ट्रान्सफर्मर रहने ‘बेस’ तथा अन्य भौतिक संरचनासमेत पूरा भइसकेको छ ।

ट्रान्सफर्मरसमेत निर्माणस्थलमा आइसकेको छ भने अन्य प्राविधिक उपकरणसमेत उपलब्ध भइसकेको छ ।

प्रवक्ता अधिकारीले भौतिक संरचना पूरा भइसकेको अवस्थामा उपकरण जडानको कार्य अब छिट्टै सुरु हुने र हिउँदमा मागअनुसार विद्युत् उपलब्ध गराउन सकिने बताए ।

यस्तै, आयोजनाको महत्वपूर्ण मानिएको अग्नि नियन्त्रण कक्ष, तथा कर्मचारी आवास भवन पनि बनिरहेको छ ।

आयोजनाका प्रमुख रहेका राधेशरण महतोले हरेक दिनको कार्यप्रगति ऊर्जामन्त्री शर्मा र प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई उपलब्ध गराउने र कुनै समस्या परे तत्कालै समाधान गर्ने गरिएको छ ।

आयोजनामा समय र लागत बढाउने प्रवृत्तिका कारण अधिकांश आयोजना समस्याको चक्रब्युहमा फसिरहेको अवस्थामा ढल्केबर सवस्टेसनको कामले भने गति लिएको छ ।

यस्तै, सोही सवस्टेसनमा आउने विद्युत् काठमाडौं ल्याउनका लागि महत्वपूर्ण मानिएको ढल्केबर–खिम्ती प्रसारणलाइनको कामसमेत अन्तिम चरणमा पुगेको छ ।

एकाध स्थानमा प्रसारणलाइनको तार कस्ने काममात्रै बाँकी रहेको छ ।