२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


नेपाल–न्यूजिल्यान्ड परराष्ट्रमन्त्रीबीचको भेटमा एन्डमन्ड हिलारी र तेन्जिङ नोर्गे प्रसंग


0
Shares

काठमाडौं, मंसिर १३ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र न्यूजिल्यान्डका विदेशमन्त्री मुर्रे म्याककुलीबीच सोमबार भेटवार्ता भएको छ ।

दुई देशबीचको उच्चस्तरीय मन्त्रीस्तरीय भेटवार्ता भएको यो नै पहिलो हो ।

समकक्षी परराष्ट्र मन्त्रीसँंग करिब एक घन्टाको भेटवार्ताका क्रममा मन्त्री डा. महतले न्यूजिल्यान्डसँगको आपसी सम्बन्ध, सहयोग, शैक्षिक अनुदान, विस्तारका विषयमा महत्वपूर्ण छलफल भएको बताए ।

एन्डमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथामाथि विजय प्राप्त गर्दैगर्दा दुई देशको झन्डा फहराएको प्रसंग जोड्दै मन्त्री डा. महतले वार्ता निकै महत्वपूर्ण र रोचक रहेको बताए ।

मन्त्री महतका अनुसार वार्ताका क्रममा शैक्षिक अनुदान र छात्रवृत्ति, कृषिमा पशुपालन र दुग्ध प्रशोधनका सम्बन्धमा न्यूजिल्यान्डले सहयोग गर्नसक्ने विषयमासमेत छलफल भएको थियो ।

सो अवसरमा न्यूजिल्यान्डका परराष्ट्रमन्त्री म्याककुलीले नेपालमा जलविद्युत्मा लगानी र सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।

मन्त्री महतले न्यूजिल्यान्डको प्रवेशाज्ञासमेत लिन नयाँदिल्ली धाउनुपर्ने समस्याका विषयमासमेत मन्त्री म्याककुलीलाई अवगत गराएका थिए ।

प्रतिउत्तरमा न्यूजिल्यान्डका मन्त्री म्याककुलीले अस्ट्रेलियाले नेपालबाट भिसा जारी गरे आफूहरु पनि उनीहरुसँगै सहकार्य गरेर प्रक्रिया अगाडि बढाउन तयार रहेको जानकारी गराएका थिए ।

मन्त्री महत सोमबारै स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस