२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


मानवअधिकार आयोगद्वारा डा. केसीको जीवनरक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण


0
Shares

काठमाडौं, मंसिर १३ । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी आन्दोलनरत् डा. गोविन्द केसीको जीवनरक्षाका लागि सार्थक वार्ताबाट समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले सोमबार प्रेस विज्ञप्ति निकाल्दै विरोधको स्वरुप जस्तोसुकै भएपनि डा. केसीको स्वास्थ्योपचार जीवनको अधिकारसँग जोडिएकाले निजको जीवनरक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराइन् ।

उनले डा. केसीसँग वार्ता र संवादबाटै समस्याको समाधान खोजी यसप्रकारको घटनालाई पुनरावृत्ति हुन नदिनसमेत सरकारलाई आग्रह गरिन् ।

पटक–पटकको अनशनका कारण केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको, मुटुको चाल घटबढ भएको, रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएको आयोगको अनुगमनका क्रममा बुझिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ–‘सरकारी अस्पतालका भवन तथा उपचारका उपकरण जीर्ण बन्दै गएको, पिउनेपानीको अभाव, फोहरको सही व्यवस्थापन नहुँदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिनेलगायतका समस्या देखिएको छ ।’

अस्पतालमा स्वच्छ पिउनेपानी, खाना, शौचालयलगायतका भौतिक सामग्रीको उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्नसमेत आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । रासस