
जकार्ता, मंसिर १३ । इन्डोनेसियाली सेनाको एक हेलिकोप्टर चालकलाई निजले चलाएको विमान बोर्नेओ द्वीपमा दुर्घटना भएको केही दिनपछि जीउँदै उद्धार गरिएको एक अधिकारीले सोमबार बताए ।
उक्त हेलिकोप्टरमा रहेका अरु चार व्यक्ति अझै हराइरहेको बताइएको छ ।
‘बेल ४१२’ हेलिकोप्टरको भग्नावशेषसँगै यी घाइते चालकलाई आइतबार फेलापारिएको हो ।
मलेसियाको सीमासँगै दुर्गमस्थानको एक सैनिक केन्द्रमा आवश्यक सामग्री पुर्याउन तीन दिनअगाडि जाँदा उक्त हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनास्थलसम्म पुग्न निकै कठिन भएकाले चालकलाई डोरीको माध्यमबाट उद्धार गरिएको सेनाका प्रवक्ता सब्रार फाधिलाहले बताए ।
उनले चालकलाई हाल उपचारका लागि अस्पताल लगिएको जानकारी दिए ।
फधिलाहले उडानको समयमा विमानमा रहेका अरु चार व्यक्तिलाई उत्तरी कालिमान्तान प्रान्तको पहाडी क्षेत्रमा रहेको दुर्घटनास्थलमा फेलापार्न नसकिएको बताए । उनले खोजीकार्य कायमै रहेको उल्लेख गरे । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्