२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


एलेप्पोको ठूलो भू-भाग फेरि सरकारी सेनाको नियन्त्रणमा


0
Shares

काठमाडौं, मंसिर १४ । सिरियामा इस्लामिक अतिवादी समूह आईएस नियन्त्रणमा रहेको पूर्वी एलेप्पोको ठूलो भू–भाग सरकारी सेनाले फेरि आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ ।

पर्यवेक्षकहरुले समेत सिरियाली सरकारी सेनाले पूर्वी एलेप्पोमा आईएस विद्रोही नियन्त्रित एक तिहाई भूभाग फेरि कब्जामा लिएको जनाएको बताएका छन् ।

सरकारी सेनाले लगातार आक्रमण गरेपछि आईएस लडाकु हतियार छोडेर ती स्थानबाट भाग्न बाध्य भएको बताइएको छ ।

संघर्षको चेपुवामा परेका हजारौं सर्वसाधारण सुरक्षित स्थानको खोजिमा पलायन हुने क्रममा कुर्द लडाकु नियन्त्रित क्षेत्रमासमेत प्रवेश गरेको अभियानकर्ताहरुले जनाएका छन् ।

सरकारी टेलिभिजनले सरकारी सेना जमिन मुनि बिछ्याइएका विस्फोटक पदार्थ निष्कृय पार्दै अघि बढेको जनाएको छ ।

आईएस नियन्त्रित क्षेत्रमा लगातार हवाइ आक्रमण भैरहेको छ । एलेप्पोमा गत सेप्टेम्बरदेखि वृहत सैन्य कारवाही चलिरहेको छ ।

यता, विपक्षीका मुख्य वार्ताकार जर्ज सर्बाले पूर्वी एलेप्पोमा आईएसको पराजय राष्ट्रपति बशर अल असादविरुद्धको संघर्षको अन्त्य नभएको बताएका छन् ।

यद्यपि, शान्ति सम्झौताको कुनै पनि आशा थप कठिन भएको सर्बाको भनाई छ । सर्बाले क्रान्तिका लागि एलेप्पो महत्वपूर्ण भएपनि यो नै अन्तिमस्थल नभएको बताएका छन् ।

सिरियामा सन् २०११ यता राष्ट्रपति बशर अल असादको शासनविरुद्धको संघर्षले गृहयुद्धको रुप लिएको छ ।