चितवन, चैत ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताएका छन् ।
सोमबार चितवनमा पत्रकारसँगको भेटघाटमा उनले आपराधिक गतिविधि गर्ने जो–कोहीप्रति राज्य निरीह बन्न नसक्ने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले भने–‘राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।’
नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा सोमबार यहाँ आइपुगेका हुन् ।
डा. सीके राउतको समूहलाई विखन्डनको बाटोबाट मूलधारमा ल्याउनु राम्रो भएको उनले बताए ।
सरकार सन्चालनकाबारे पत्रकारको जिज्ञासामा उनले सरकार र पार्टी सन्चालनमा सचिवालयमा सरसल्लाह हुनुपर्नेमा जोड दिए ।
उनले थपे–‘असन्तुष्ट पक्षलाई बोलाइ छलफल गरेर विश्वासमा लिनुपर्दछ ।’
नेता नेपालले कुनै विषयमा आलोचना भएका खन्डमा वा केही प्रस्ट गर्नुपर्ने भएमा त्यसलाई प्रस्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्नेे बताए ।
‘नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो, जहाँ व्यक्तिविशेष सर्वेसर्वा हुँदैन’–नेकपा सचिवालय सदस्य नेपालको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री नेपालले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने विषयमा आफूले पत्रपत्रिकाबाटमात्र थाहा पाएको बताए ।
उनले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाह दिए ।
पार्टीका तल्ला कमिटी र जनवर्गीय संगठनको एकताको प्रसंगमा नेता नेपालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुंगो लगाइने जानकारी दिए ।
उनले पार्टी स्थापना भएको दिन अप्रिल २२ (आगामी वैशाख)सम्ममा सम्पूर्ण एकता सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए । रासस









प्रतिक्रिया दिनुहोस्