Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


नेपालको लगातार तेस्रो हार, बंगलादेश ९२ रनले विजयी


0
Shares

अपडेट
काठमाडौं, मंसिर १४ । थाइल्यान्डको बैंककमा जारी एसिया कप महिला ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

यसअघि पाकिस्तान र श्रीलंकासँग पराजित भएको नेपाललाई मंगलबार बंगलादेशले ९२ रनले हराएको हो ।

बैंककमा बंगलादेशले प्रस्तुत् गरेको १३४ रनको विजय लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ४१ रनमा अलआउट भयो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक १५ रन जोडिन् । अरु कुनै पनि नेपाली खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालका चार खेलाडीहरु शून्य रनमै पवेलियन फर्किए ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित् २० ओभरमा ४ विकेटको क्षतिमा १३३ रन जोडेको थियो ।

बंगलादेशका लागि निगर सुल्तनाले ३९ तथा सन्जिदा स्लामले ३५ रनको योगदान दिए ।

बलिङतर्फ नेपालकी संगीता राईले २ विकेट हात पार्दा कप्तान रुबिना क्षेत्री र सीता रानामगरले १–१ विकेट झारे ।

प्रतियोगिताको सुरुआती दुई खेलमा नेपाललाई पाकिस्तान र श्रीलंकाले फराकिलो अन्तरमा हराएका थिए ।

पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको नेपाल दोस्रो खेलमा सोमबार श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो ।

६ टिम सहभागी प्रतियोगितामा तीनओटै खेल जितेर भारत शीर्ष स्थानमा कायमै छ भने दुई खेल जितेको बंगलादेश दोस्रो तथा रनरेटमा पाकिस्तान तेस्रो स्थानमा छ ।

श्रीलंकाले एक खेल जितेको छ भने थाइल्यान्ड र नेपाल अंकविहीन छन् ।

नेपालले चौथो खेलमा बिहीबार थाइल्यान्डसँग खेल्नेछ । नेपालको अन्तिम भिडन्त भारतसँग हुनेछ ।