
काठमाडौं, मंसिर १४ । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनोट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ ।
प्रेस काउन्सिल नेपालले मंगलबार पाँच लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार दुबै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गरिने निर्णय गरेको हो ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट र सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य एवं काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सदस्यसचिव रहेको पुरस्कार छनोट समितिले सर्वसम्मतिले सो निर्णय गरेको हो ।
उक्त पुरस्कार विशेष समारोह आयोजना गरी चाँडै प्रदान गरिनेछ ।
स्व. सञ्जय न्यौपाने कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समयसम्म रिपोर्टिङ, उपसम्पादक हुँदै प्रमुख संवाददाता र आर्थिक ब्युरो प्रमुखकारुपमा कार्यरत् रहे ।
त्यसपछि उनी आर्थिक क्षेत्रको पहिलो ‘ब्रोडसिट’ कारोबार दैनिकमा सम्पादककारुपमा रहे ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रबाट थुप्रै फेलोसिप र पुरस्कार प्राप्त गरेका पत्रकार न्यौपाने आर्थिक पत्रकार समाज (सेजन)को उपाध्यक्ष रहेका थिए ।
पत्रकारितामा क्रियाशील रहिरहेकैबेला मस्तिस्कसम्बन्धी गम्भीर रोगबाट ग्रस्त भइ उपचारकैक्रममा उनको २०७३ साल कात्तिक २० गते निधन भएको थियो ।
त्यस्तै, कन्चनपुरको महेन्द्रनगरबाट प्रकाशित अभियान दैनिकको डडेल्धुरा संवाददाताकारुपमा पत्रकारिता सुरु गरेका स्व. कर्ण बोहरा स्थानीय कालापानी साप्ताहिक महानगर पोस्ट र राष्ट्रिय तहका स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, रहस्य साप्ताहिकलगायत सन्चारमाध्यममा आबद्घ भए ।
पछिल्लो समयमा उनी महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपालको सम्पादक/प्रकाशक, महेन्द्रनगरबाटै प्रसारित पश्चिम नेपाल रेडियोको प्रबन्ध निर्देशक तथा काठमाडौंबाट प्रसारित न्युज–२४ टिभीको सुदूरपश्चिम ब्युरो प्रमुखकारुपमा कार्यरत् थिए ।
पछिल्लो समयमा मुटु रोगका साथै मधुमेह र उच्च रक्तचापबाट पीडित पत्रकार बोहराको दुबै मिर्गौला खराब भइ उपचार गराइरहेकी श्रीमतीको कुरुवा बसेको अवस्थामा २०७३ मंसिर १० गते काठमाडौंमा निधन भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्