काठमाडौं, मंसिर १४ । लगातार घट्दै आएको सेयर बजार मंगलबार भने ४३.५२ अंकले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ ।
लगातार घट्दै आएको र पटक–पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार मंगलबार २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक एक हजार ५५३ बिन्दूमा पुगेको छ ।
कुल १३१ कम्पनीको १४ लाख १४ हजार ३२८ कित्ता सेयर रु एक अर्ब १९ करोड १९ लाख १२ हजार २१३ मूल्यमा खरिद–बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
‘बियरिस ट्रेन्ड’मा रहेको बजारमा सोमबारदेखि सुधार देखिन थालेको हो ।
अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार आफूसँग भेट्न आएका लगानीकर्तालाई हतोत्साहित नहुन आग्रह गरेका थिए ।
स्टकका अनुसार ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ३ दशमलव ०२ प्रतिशतले बढेको छ । उत्पादन समूहबाहेक अन्य समूह रातो हुँदा बजार उकालो लागेको हो ।
स्टकका अनुसार बैंकिङ २.९४, होटल ०.२, विकास बैंक २.७३, जलविद्युत् ५.५१, फाइनान्स १.१६, बिमा ४.९३ र अन्य समूह ०.२३ प्रतिशतले बढ्दा उत्पादन समूह भने ०.९६ प्रतिशतले घटेको छ ।
आइतबार र सोमबार दुई–दुईपटक सर्किट ब्रेक लगाएको स्टकले मंगलबार पनि झन्डै बजार उकालो लाग्दा सर्किट ब्रेक नै लगाउनुपर्ने अवस्थामा पुगेको थियो । रासस





प्रतिक्रिया दिनुहोस्