
लन्डन, मंसिर १५ । बेलायतमा गत सेप्टेम्बरदेखि जारी गरिएको पाँच पाउण्ड दरको नयाँ नोट च्यात्न नसकिने र पानीले पनि भिजाउन नसक्ने खालको छ ।
धेरैले यो नोटलाई रुचाएका छन् । खल्तीमा रहेको नोट निकाल्न बिर्सिएर तपाईले कपडा धुनु भयो भने पनि नोटमा कुनै असर पर्दैन । नोट सुरक्षाका लागि यो निकै अब्बल मानिन्छ ।
तर यो नोटको विरोध पनि भइरहेको छ । शाकाहारी समुदायले यसको विरोध गरेका हुन् ।
उनीहरुले विरोध गर्नुको मुख्य कारण, यो नोटमा जनावरको बोसो प्रयोग गरिनु नै हो । नोट चिल्लो छ । नोट बनाउन प्रयोग गरिएको प्लास्टिक पोलिमरमा केही अंश बोसो पनि मिसाइएको छ ।
पारम्परिक रुपमा यस्तो बोसो गाइ–भैंसी, खसी–बाख्रा, सुँगुर जस्ता जनावरको शरीरबाट निकालिएको हुन्छ । त्यसैले शाकाहारी वर्गले बोसो प्रयोग गरिएको नोट निकालिएकोमा असन्तुष्टि जनाएका हुन् ।
सामाजिक संजालमा उनीहरुले विरोध अभियान नै चलाएका छन् । ४० हजारभन्दा बढीले सामाजिक संजालमा एउटा निवेदनमा हस्ताक्षर गर्दै उक्त नोट बनाउने सामाग्री परिवर्तन गर्न माग गरेका छन् ।
निवेदनमा भनिएको छ, ‘उक्त नोटमा बोसोको प्रयोग रोकियोस्, जसलाई हामीले समेत प्रयोग गर्नु परिरहेको छ ।’
कतिपयले उक्त नोटका बारेमा व्यंग्य पनि गरेका छन् । ‘ब्रिटेनको नयाँ नोटमा कति क्यालोरी उर्जा छ ?’ भनेर उनीहरुले व्यंगात्मक प्रश्न राखेका छन् ।
केही बेलायती हिन्दुले मन्दिरमा उक्त नोटलाई प्रतिबन्ध गर्नेबारेमा विचार गरिने जनाएका छन् ।
बैंक अफ इंग्ल्याण्डले उक्त नोटमा प्रयोग हुने पोलिमरमा केही अंश पशुको बोसो प्रयोग भएको स्वीकार गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्