सिन्धुली, मंसिर १५ । सरकारकोे उच्च प्राथमिकता रहेको बहुप्रतिक्षित खिम्ती—ढल्केबर २२० केभी प्रसारणलाइन निर्माणको काम अब एक महिनाभित्र सम्पन्न हुने भएको छ ।
आयोजनाको काम सकाउन सात महिनादेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्माणस्थलमा कडा सुरक्षा दिएका छन् । आयोजनाको पहिलो सर्किटको काम ९८ प्रतिशत पूरा भइसकेको छ ।
सिन्धुलीको रतनचुराको खनियाखर्कदेखि भीमेश्वर गाविसको खुर्कोट क्षेत्रमा प्रसारणलाइनको तार विस्तार गर्ने काम केही दिनमै पूरा हुनेछ ।
निर्माणस्थलमा अहिले चार टोलीले काम गरिरहेको आयोजना कार्यालयले जनाएको छ ।
प्रसारणलाइन दोलखाको शहरे गाविस किर्नेटारबाट सुरु भइ रामेछापको तामाकोसी नदी क्षेत्रको ६ गाविस हुँदै सिन्धुलीको भीमेश्वर पुर्याइने छ ।
त्यहाँबाट सिन्धुलीगढी महाभारत क्षेत्र पार गरी कमलामाई नगरपालिकाको पूर्वी भाग हुँदै रानीचुरीखन्डबाट महोत्तरीको गौरीबास, धनुषाको तुलसी बेगाडावर र अन्तिममा ढल्केबर स्टेसनमा जोडिने छ ।
७५ किलोमिटर लामो विद्युत् प्रसारणलाइन बनाउन विश्व बैकले झन्डै दुई अर्ब २० करोड रुपैयाँ लगानी गरिरहेको छ ।





प्रतिक्रिया दिनुहोस्