८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पुँजीबजारमा सुधार, कारोबार पनि बढ्यो


0
Shares

काठमाडौं, असार २३ । यो साता पुँजीबजारमा उच्च अंकको सुधार आयो ।

सेयर धितो ऋणको सीमा बढ्ने हल्लासँगै पुँजीबजारमा उछाल आएको हो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ४० अंकले बढेर अन्तिम दिन १२ सय २४ अंक पुग्यो । गत साता नेप्से २१ अंकले झरेको थियो ।

यो साता उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आयो ।

बिमा समूह सबैभन्दा उच्च ३३३ अंकले बढ्यो । यस्तै, होटल ८८, लघुवित्त ८३, विकास बैंक ५४ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि करिब ३० अंकको सुधार आयो ।

यो साता कारोबार परिमाणमा सुधार आयो । १८४ कम्पनीहरुका एक अर्ब ३३ करोड ७३ लाख रुपैयाँ बराबरका ४२ लाख ५४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १८६ कम्पनीहरुको एक अर्ब चार करोड १६ लाख रुपैयाँ बराबरका ३६ लाख ७९ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा २८ प्रतिशतले बढी हो ।

यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र कारोबार भएको सेयर संख्याको प्राइम कमर्सियल बैंक अग्रस्थानमा रह्यो ।

कारोबार रकमकै आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र नबिल बैंक लमिटेड संस्थापकले क्रमशः पच्छ्याउन पुगे ।