
केशव भण्डारी (इमेज)
बुटवल, मंसिर १६ । सरकारले ५ नम्बर प्रदेशलाई ‘टुक्र्याउने’ गरी संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गरेसँगै विभिन्न जिल्लामा आन्दोलन चर्किएको छ ।
सरकारले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा आन्दोलन चर्किएको हो ।
संविधान संशोधनको प्रस्तावविरुद्धमा बुटवलमा भएको आन्दोलन अराजक बन्दै गएको छ ।
विहीबार बिहानैदेखि सुरु भएको प्रदर्शन मध्याह्नपछि अराजक बनेको थियो । प्रहरी र प्रदर्शनकारीबीच झन्डै दुई घन्टा ढुंगा हानाहान भएको हो ।
पुष्पलालपार्कमा रहेको माओवादीले बनाएको सहिदस्तम्भ प्रदर्शनकारीले भत्काउन खोजेपछि झडपसमेत भएको छ ।
त्यसक्रममा दुई प्रहरी जवान र दुईजना प्रदर्शनकारी घाइते भएका छन् । टाउको र खुट्टामा चोट लागेका उनीहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीमाथि प्रदर्शनकारीले चारैतिरबाट ढुंगा बर्साएपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
माओवादीको सहिदस्तम्भको हँसिया–हथौडा झिकेर राष्ट्रिय झन्डा राख्न दिने सहमति भएपछि तनाब केही साम्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्