
सोलुखुम्बु, मंसिर १६ । भीर र जंगलनजिक रहेको बारीमा लगाइएको बाली जोगाउन सोलुखुम्बुका बासिन्दालाई हम्मे–हम्मे पर्ने गरेको छ ।
बालबालिका बिहान उज्यालो भएदेखि साँझसम्म बारीमै बस्छन् । गाउँभरिका बालबालिका जम्मा हुन्छन् । उनीहरु बारीमै खैल्छन् । खाजा त्यहीँ खान्छन् । अनि साँझ परेपछिमात्र घर फर्कन्छन् ।
‘बाली पाक्नेबेलासम्म कहिले स्कुल जाँदैनौं’–सोताङ गाविस–६ का १२ वर्षीय नौकुवीर नाछिरिङले भने ।
बारीमा कोदोबाली पाक्नथालेकाले बालबालिका दिनभर बारीमै बस्ने गरेका छन् । जंगल र भीरको छेउमा रहेको बारीमा बाली पाक्न नपाउँदै हुलका हुल बाँदर आएर सिध्याउने गरेका छन् ।
‘बिहान उज्यालो भएदेखि साँझसम्म बाँदर खेदाउन बारीमै बस्नुपर्छ’–सोताङ–६ रोककी तुलीमाया नाछिरिङले भनिन् ।
अभिभावक काम गर्न जानुपर्ने भएकाले बाँदर खेद्ने जिम्मा बालबालिकाको हुने गरेको छ । उनीहरु वर्षमा आधाभन्दा बढी समय बाँदर खेद्नमै बिताउँछन् ।
कात्तिक–मंसिरमा कोदो, चैत–वैशाखमा गहुँ, जौ, जेठ–असारमा आलु तथा साउन–भदौमा मकैबाली जोगाउनुपर्ने भएकाले बालबालिका सधैंजसो बारीमा बसेर बाँदरको गोठालो लाग्नुपर्छ ।
‘बाँदर खेद्न जानुपर्ने भएकाले विद्यार्थीको पढाइ निकै प्रभावित हुने गरेको छ’–स्थानीय शिक्षक भूपेन्द्र नाछिरिङले भने ।
बाली पाक्नेबेलामा विद्यालयमा विद्यार्थीको उपस्थिति अत्यन्तै कम हुने गर्छ । बालबालिका साँझसम्म बाँदर खेद्न जान्छन् भने अभिभावक रातको समयमा भालु तथा दुम्सी खेद्न जानुपर्छ । दुम्सी र भालु धपाउन अभिभावकको बास बारीमै हुने गरेको छ ।
‘बाली उठाउनेबेलामा त विद्यालय रित्तै हुन्छ’–शिक्षक नाछिरिङले भने ।
बाँदरको ठूलो हुल आएकोबेलामा बारीमा थोरै बालबालिका भएमा बाँदरले आक्रमण गर्ने डर रहन्छ । जनावरले गाउँका केही बालबालिकालाई घाइतेसमेत बनाएको छ ।
चार वर्षअघि बाँदरको आक्रमणबाट एक बालकको मृत्यु भएको शिक्षक नाछिरिङले बताए । रासस
प्रतिक्रिया दिनुहोस्