
काठमाडौं, मंसिर १७ । भारतसँग ९९ रनको फराकिलो हार ब्यहोर्दै नेपालले एसीसी महिला एसिया कप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा दुःखद् अन्त्य गरेको छ ।
थाइल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समुह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग ९९ रनको विशाल अन्तरले पराजित भएको हो ।
बैंककमा भारतले प्रस्तुत गरेको १ सय २१ रनको बिजयी लक्ष्य पछ्याएको नेपाल १६ दशमलब ३ ओभरमा २१ रनमै अलआउट भयो ।
भारतबिरुद्धको यो स्कोर नेपाली महिला क्रिकेटकै इतिहासमा अहिलेसम्म बनाएकोे सबैभन्दा न्युन स्कोर हो ।
जारी प्रतियोगितामै श्रीलंकाबिरुद्ध २३ रन बनाउदै नेपालले सबैभन्दा न्युन स्कोरको कीर्तिमान कायम गरेको थियो । भारतबिरुद्ध नेपालका पाँच ब्याट्सवुमन शुन्य रनमै पेभेलियन फर्के ।
नेपालका लागि सीता मगरले सर्वाधिक ६ रन जोडिन् ।
खेलमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनायो । उसको सुरुवात औसत रह्यो । २० रन जोड्दा पहिलो विकेट गुमाएको भारतले एक समय ६९ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । तर, शिखा पाण्डे र हर्मनप्रित कौरले छैटौ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरे ।
पाण्डे ३९ र कौर १४ रनमा अविजित रहिन् । नेपालकी रुविना क्षेत्रीले २ विकेट लिइन् भने करुणा भण्डारी र सीता राना मगरले एक–एक विकेट लिए ।
आयोजक थाइल्याण्ड बाहेक सबै टेष्ट मान्यता प्राप्त राष्ट्रहरु पाकिस्तान, श्रीलंका, बंगलादेश र भारतसँग प्रतिष्पर्धा गरेको नेपालले सबै खेलमा पराजित भएसँगै अंक तालिकामा खाता नखोली पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।
प्रतिक्रिया दिनुहोस्