काठमाडौं, चैत ११ । राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सेना परिचालनसम्बन्धी प्रस्तावित व्यवस्थाबारे नेपाली सेनाकै अवकाशप्राप्त अधिकारीले कडा आपत्ति जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विधेयकप्रति आपत्ति जनाउँदै फिर्ता लिन सरकारसँग माग गरिरहेका समयमा सेनाका अवकाशप्राप्त सहायक रथीद्वय डा.प्रेमसिंह बस्न्यात र धर्मबहादुर बानियाँ पनि विधेयकमा भएको व्यवस्थाप्रति आपत्ति जनाएका हुन् ।
अवकाशप्राप्त सहायक रथी डा. बस्न्यातले सेनाको नाममा कसैले पनि राजनीति गर्न नहुने धारणा राखे । रिपोर्टर्स क्लव नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘अहिले ल्याईएको सेना परिचालनसम्बन्धी विधेयकमा शंका गर्ने थुप्रै ठाउँहरु देखेको छु ।’ अहिले पनि आफूले सेनाको पेन्सन खाइरहेको जनाउँदै उनले बन्दुक, गोली, बारुद र युद्धकलालाई राजनीतिसँग नजोड्न आग्रह गरे।
उनले रक्षामन्त्री ईश्वर पोखरेलको भूमिकाप्रति पनि असन्तुष्टि जनाए । पोखरेल रक्षामन्त्री भएर आएको दिनदेखि नै सेनाको छवि गिर्दै गएको उनको आरोप थियो । उनले भने, ‘रक्षामन्त्री भनेको त सेनाको पिता हो । तर, उहाँ रक्षामन्त्री भएपछि सेनाको छवि गिर्दै गएको छ,’ उनले भने, ‘नेपाली सेनाले बिम्स्टेकमा भाग लिएन भनेर दुनियाँ गाली गरियो, प्रधानमन्त्रीले गाली खाए, सेनाले गाली खायो, स्वीकृति दिने रक्षामन्त्रीले भने चुईंक्क बोलेनन्, किन ?’
उनले अमेरिकी सहायक रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आएको अभिव्यक्तिबारे समेत नेपालका रक्षामन्त्री मौन रहेको भन्दै आश्चर्य प्रकट गरे । ‘अमेरिकाको सहायक रक्षामन्त्री नेपालमा आएर चीनको विरुद्धमा कुरा गर्दा मेरो रक्षामन्त्रीको घाँटीमा के अड्किएको थियो ?’ उनले भने, ‘त्यसको प्रतिवादमा मित्रराष्ट्र चीनको राजदुतले बेलुका विज्ञप्ती निकाल्नुपर्दा उहाँले किन बोल्नुभएन ?’
बस्न्यातले प्रधानमन्त्रीले एकल निर्णयमा सेना परिचालन गर्नसक्ने गरी विधेयक लैजानु रक्षामन्त्रीको गम्भिर गल्ती भएको टिप्पणी गरे । उनले भने, ‘म आर्मीको प्रवक्ता होइन, तर मैले यस्ता सुरक्षा परिषद धेरै देशको अध्ययन गरेको छु ।’
उनले प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार पूर्वाग्रही भएको आरोप लगाए । ‘यिनका ८÷१० वर्षका रेकर्डहरु हेर्नुहोस् । यिनले खाएका डिएफआईडिका पैसाहरु, हामीले हिजो युद्ध लड्दा यो सेनालाई ठोक्नुपर्छ, यो गर्नुपर्छ भनेर यत्रा–यत्रा किताब लेख्नेहरु अहिले प्रधानमन्त्रीको त्यो ठाउँमा कुदिरहेका छन् ।’
उनले आफूहरुलाई राजनीतिक कुरा र चिल्ला कुरा नआउने भन्दै मनमा अहिले पनि बन्दुक रहेको सुनाए । उनले भने, ‘हामी अहिलेपनि बन्दुके हौं, यो मनमा बन्दुक छ । सेनाले एस ओर नो सिकाउँछ ।’ उनले सेना परिचालनसम्बन्धी विधेयक नियतबस ल्याईएको आरोपसमेत लगाए ।
बस्न्यातले थप प्रश्न गरे, ‘नेपालको सुरक्षा अवस्था ठिक छ कि छैन भनेर तीन वटा सुरक्षा निकायका प्रमुखले मूल्यांकन गर्ने हो कि राजनीतिक दलहरुले गर्ने हो ? नेपाली सेना भनेको तपाईको खल्तीको भुटेको मकै हो र ?’ विधेयक यही अवस्थामा पारित भए भोलिका दिनमा ओली सरकार वा कम्युनिष्ट सरकारविरुद्धमा जनता आए भने पनि सेना परिचालन हुनसक्ने खतरा उनले औंल्याए ।
नेपाली सेनाका अवकाश प्राप्त अर्का सहायक रथी धर्मबहादुर बानियाँले सेना परिचालनसम्बन्धी विधेयक असान्दर्भिक भएकोले फिर्ता लिनुपर्ने बताए । उनले भने, ‘यो विधेयक असान्दर्भिक छ, त्यसैले यसलाई फिर्ता लिनुपर्छ ।’
उनले थपे, ‘सेना परिचालनसम्बन्धी सल्लाह दिने सर्वश्रेष्ठ व्यक्ति को हो त भन्दा प्रधानसेनापति हो, प्रधानसेनापतिलाई सुरक्षा अवस्था, कमिकमजोरी र सेनाको क्षमता के छ भन्ने कुरा राम्रोसँग थाहा हुन्छ, उहाँले दैनिक रुपमा देशको सुरक्षा अवस्था कस्तो छ भनेर मूल्यांकन गरिराख्नुभएको हुन्छ । तर, सेना परिचालनसम्बन्धी अहिले बनेको विधेयकमा उहाँ सदस्य हुनुहुन्न । उहाँलाई सदस्यमा राखिएको छैन । भनेपछि यो कस्तो किसिमको विधेयक हो त ?’
नेपाली सेना राष्ट्रको सेना भएको बताउँदै बानियाँले भने, ‘नेपाली सेना राष्ट्रको सेना, यो हरेक नेपालीहरुको सेना हो, यो कुनै एक व्यक्तिको सेना होइन । पूर्व मेचिदेखि महाकालीसम्म र हिमालदेखि पहाड र पहाडदेखि तराईसम्म सबैको सेना हो । राष्ट्रको महत्वपूर्ण शक्ति संयन्त्र भनेको नै सेना हो । त्यसकारण सेनासँग खेलाँची गर्न मिल्दैन ।’
उनले सेना परिचालनसम्बन्धी विद्यमान संवैधानिक प्रावधानमा केही पनि कमी नभएको स्पष्ट पारे । उनले भने, ‘सेना परिचालनसम्बन्धी संविधानमा भएका प्रावधानमा कुनै कमी कमजोरी छैन । वर्तमान विधेयकलाई खारेज गर्नुपर्छ । मलाई लाग्छ अहिलेको सरकारसँग बहुमत छ, उनीहरुले विधेयक पेश गरेका छन् । उनीहरुले पास गर्न सक्छन् । तर यो विधेयक पास गर्नुहुँदैन । यो देशको हितमा छैन ।’









प्रतिक्रिया दिनुहोस्