
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, मंसिर १७ । राष्ट्रिय खेलकुद प्रतियोगितासँग मिति जुधेपछि आठौं अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता एक हप्ता पर सरेको छ ।
अब प्रतियोगिता पुस १५ गते देखि २४ गतेसम्म सन्चालन हुने शुक्रबार पाँचथरको सरदमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
यसअघि, पुस ८ गतेदेखि १७ गतेसम्म फाल्गुनन्द गोल्डकप सन्चालन गर्ने भनिएको थियो ।
राष्ट्रिय खेलकुद प्रतियोगिता पनि सोही मितिमा हुने भएकाले खेलाडीलाई समय व्यवस्थापन गर्न समस्या हुने हुँदा मिति सारिएको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले बताए ।
प्रतियोगितामा यो वर्ष १० ओटा टिम सहभागी हुनेछन् । पूर्वाञ्चल र भारतका चर्चित टिमहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।
प्रतिक्रिया दिनुहोस्