
केशव भण्डारी (इमेज)
बुटवल, मंसिर १७ । ५ नम्बर प्रदेश टुक्र्याउने गरी सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको विरोधमा शुक्रबार बुटवलमा विशाल जनप्रदर्शन भएको छ ।
सरकारी प्रस्तावको विरोधमा हजारौं जनता सडकमा ओर्लिएका छन् ।
प्रर्दशन तथा सभामा सत्तारुढ दलकै केन्द्रीय नेताहरुलेसमेत संशोधन प्रस्ताव सरकारको नभएको र विदेशी इशारामा आएको आरोप लगाए ।
राजमार्ग चौराहाबाट सुरु भएको र्याली ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाइ सम्वोधन गर्दै नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका चन्द्र भण्डारीले संशोधन प्रस्तावको कडा विरोध गरेका थिए ।
५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव विदेशीको इशारामा भएको भन्दै उनीहरुले विखन्डनलाई सघाउने गरी आएको प्रस्ताव फिर्ता लिन पनि माग गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट तथा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रदेश टुक्र्याउने विषयमा जनमतसंग्रह गरेर देखाउन चुनौती दिएका थिए ।
संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी रहने पनि उनीहरुले उद्घोष गरेका छन् ।
प्रदर्शनका क्रममा बुटवलका सडक सर्वसाधारणले भरिभराउ भएको थियो । व्यापक जनसमर्थन पाएपछि नेताहरु पनि हौसिएका थिए ।
प्रदर्शनको कारण पूर्व पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग शुक्रबार पनि दिनभर ठप्प बन्यो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्