
केशव भण्डारी (इमेज)
बुटवल, मंसिर १७ । ५ नम्बर प्रदेश विभाजन गर्नेगरी सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको विरोधमा शुक्रबार बुटवलमा विशाल जनप्रदर्शन भएको छ ।
सरकारी प्रस्तावको विरोधमा त्यस क्षेत्रका सम्पूर्ण राजनीतिक दल, उद्योगी–व्यापारी, विद्यार्थी, सामाजिक संघ–संस्था, सन्चारकर्मी र सर्वसाधारण हजारौंको संख्यामा सडकमा ओर्लिएका हुन् ।
राजमार्ग चौराहाबाट सुरु भएको विरोधर्याली ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।
प्रदर्शनपछि आयोजित विरोधसभामा बोल्ने वक्ताहरुले पहाड र तराई छुट्याउने प्रस्तावविरुद्ध कुनै आस्था र विचारभन्दा माथि उठेर प्रतिकार गर्ने प्रतिबद्धता जनाए ।
सभालाइ सम्बोधन गर्दै एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र कांग्रेस नेता चन्द्र भण्डारीले संशोधन प्रस्तावको चर्को आलोचना गरे ।
विदेशीको इशारामा ५ नम्बर प्रदेश विभाजन गर्ने प्रस्ताव आएको भन्दै यस्तो प्रस्तावले विखन्डनलाईमात्रै बल पुग्ने उनीहरुको जिकिर थियो ।
त्यसैगरी, एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट तथा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रदेश टुक्र्याउने प्रस्ताव ल्याउनेहरुलाई जनमतसंग्रह गरेर देखाउन चुनौती दिए ।
संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी रहने उद्घोष पनि नेताहरुले गरेका छन् ।
प्रदर्शनमा जनसागर उर्लिएपछि नेताहरु निकै उत्साहित देखिएका थिए ।
बुटवलको प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग शुक्रबार पनि दिनभर ठप्प रहे ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्