
काठमाडौं, मंसिर १८ । आज २५औं अन्तर्राष्ट्रिय अपांगता दिवस । हासिल गरौं दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौं हामीले चाहेको भविष्य भन्ने सन्देशका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक शुभकामना सन्देश दिँदै अपांगता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले नभई अधिकारमुखी दृष्टिकोणबाट विकासको मूल प्रवाहमा समाहित गर्दै आत्मनिर्भर तुल्याउने नीति नेपाल सरकारले आत्मसात गरेको बताएकी छिन् ।
उनले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन गरी अपांगतासम्बन्धी कानुनलाई घरेलुकरण गर्ने क्रम जारी रहेको बताइन् ।
साधन, स्रोत र सेवामा अपांगता भएकाको सरल र सहज पहुँच बढाउन क्षमता अभिवृद्धि गरी रोजगारीका अवसर प्रदान गर्न आग्रह गरेकी छिन् ।
उनले शिक्षा, स्वास्थ्यलगायत सेवा स्थानीय तहबाट प्रदान गर्दै समाजमा नै पुनःस्थापित गर्ने उद्देश्यले समुदायमा आधारित पुनःस्थापना कार्यक्रम सरकारले गत वर्षदेखि मुलुकभर कार्यान्वयन गर्दै आएको उल्लेख गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्