Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


अपरमादी जलविद्युत आयोजना निर्माणको काम पूरा, सात अर्ब लगानी


0
Shares

पोखरा, मंसिर १८ । कास्कीको सिल्दुजुरे गाविसस्थित २५ मेगावाट क्षमताको अपरमादी जलविद्युत आयोजना निर्माणको काम पूरा भएर उपकरण परीक्षणको काम पनि सकिएको छ ।

दुई सातासम्म गरिएको परीक्षणमा खराबी नदेखिएको आयोजनाले जनाएको छ । दश किलोमिटर टाढाको लेखनाथस्थित विद्युत् प्राधिकरणको सबस्टेसनबाट १ सय ३२ केभी प्रसारण लाइनमार्फत विद्युतगृहमा पु¥याइ चार्जिङ गरिरहेको आयोजनाले जनाएको छ ।

चार हजार दुई सय मिटर लामो सुरुङमा मादी खोलाको पानी ल्याएर १ सय १६ मिटर पेनस्टक पाइपमार्फत बिजुली उत्पादन गर्न लागिएको हो ।

विद्युतगृहमा साढे १२ मेगावाट क्षमताका २ वटा फ्रान्सिस टर्वाइन जडान गरिएको छ । आयोजना गत अप्रिलमा सकिनुपर्ने भए पनि भूकम्प, नाकाबन्दी र मादीमा आएको बाढी पहिरोले काम ढिलो भई लागतसमेत बढेको थियो ।

५ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना सकिँदा झण्डै ७ अर्ब रुपैयाँ पुगेको आयोजनाका निर्देशक विजयबाबु मल्लले जानकारी दिए ।

मादी पावर प्रालि अन्तर्गतको आयोजनामा मल्लको २० प्रतिशत र चीनको चाइना थ्री गर्जेज कर्पोरेसनसँग आबद्ध चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनको ८० प्रतिशत लगानी छ ।

आयोजना २०६९ पुस १३ बाट चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले निर्माण सुरु गरेको थियो ।