७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


म्याग्दी यातायातका दुईओटा जिप तोडफोड


0
Shares

म्याग्दी, मंसिर १८ । पश्चिम म्याग्दी यातायात सेवा प्रालि दरबाङले बेनी– दरबाङ सडकखन्डमा आइतबार (भोलि)देखि सन्चालन गर्न ल्याएको दुईओटा जिप पर्वत–बेनीमा तोडफोड भएको छ ।

दरबाङमा आइतबार उद्घाटन गरी सन्चालनमा ल्याउने तयारीका साथ ल्याउन लागेको जिपमध्ये दुईओटा जिपको अगाडिको सिसा, झ्याललगायतमा क्षति पुगेको छ ।

म्याग्दी आउनेक्रममा शनिबार राति करिब १० बजे ८/९ जनाको समूहमा आएका युवाले तोडफोड गरेको प्रालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

उनले म्याग्दी जिप तथा बस सन्चालक समितिअन्तर्गतको काउन्टरका कर्मचारीले आफ्नो प्रालिको सेवा सुचारु हुन नदिने नियतले उक्त तोडफोड गरेको दाबी गरे ।

उक्त समूहले जिप चालकलाई पनि हातपातको प्रयास गरेको बताइएको छ ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले घटनालगत्तै तोडफोड भएका जिपलाई प्रहरी कार्यालयमा ल्याइएको र दोषीलाई पर्वत प्रहरीसँग समन्वय गरी खोजी गरिरहेको बताए ।

यसैबीच, उक्त तोडफोडमा आफ्नो समितिको कुनै संलग्नता नभएको म्याग्दी जिप तथा बस सन्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।

उनले उक्त प्रालिसँग सेवामा प्रतिस्पर्धा गर्न समिति तयार रहेको कारण समितिले कुनैपनि अनैतिक प्रतिस्पर्धा नगर्नेसमेत बताए । रासस