
बर्दिवास, मंसिर १८ । विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्यासहितका ठाउँबाट आएका साधुसन्तसहित जन्ती शनिबार महोत्तरी जिल्लाको मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेका छन् ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकनन्दिनी सीताको विवाह भएको सम्झनामा मार्ग शुक्लपञ्चमीका दिन जनकपुरमा आयोजना हुने विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट लावालस्करसहित जन्ती आएका हुन् ।
मिथिलामा सात दिनसम्म मनाइने विवाहपञ्चमीको सांस्कृतिक महोत्सवमा भाग लिन शुक्रबार साँझ नेपाल प्रवेश गरेका जन्ती मटिहानीस्थित श्री लक्ष्मीनारायण मठमा बास बसेका थिए ।
जन्तीमा सरिक भएका भारतीय साधुसन्त शनिबार जलेश्वरनाथ महादेवको दर्शन गरेर जिल्लाकै सहोड्वामा रात्रि विश्राम गर्नेछन् ।
यसअघि शुक्रबार नेपाल प्रवेश गरेका भारतीय साधुसन्तलाई मटिहानीवासीले हार्दिक स्वागत् गरेका थिए ।
जन्तीमा आएका भारतीय साधुसन्त विवाहपञ्चमीका दिन सहोड्वाबाट ८ किलोमिटर दूरीमा रहेको जनकपुरमा पुग्ने परम्परा छ ।
महोत्सवमा मिथिला संस्कृतिअनुसार विवाहमन्डपको वेदी (यज्ञकुन्ड) बनाउने मटकोर विधि शनिबार सम्पन्न गरिँदै छ ।
मटकोरका लागि मटिहानीस्थित धार्मिक महत्वको लक्ष्मीसागर (तलाउ)बाट राम–सीताको विवाहमा माटो खनेर लगिएको विश्वासमा प्रत्येक वर्ष यो विधि सम्पन्न गर्ने गरिएको छ ।
सात दिनसम्म मनाइने विवाहपञ्चमी महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैटौं दिन शुभविवाह र सातौं दिन राम कलेवा कार्यक्रम सम्पन्न गरिने परम्परा छ ।
आइतबार मार्ग शुक्लपञ्चमीका दिन आयोजन हुने विवाह महोत्सवका लागि हजारौंको संख्यामा श्रद्धालु जनकपुर गइरहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्