काठमाडौं, मंसिर १८ । यो साता शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि उच्चबृद्धि आयो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १ सय ३१ अंकले बढेर अन्तिम दिन १६ सय अंकमा पुग्यो । गत साता नेप्से ६५ अंकले झरेको थियो ।
यो साता उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा बृद्धि आयो । बीमा समूह सबैभन्दा उच्च ७ सय ७२ अंकले उक्लियो ।
जलविद्युत् समूहमा १ सय ५७ अंकको बृद्धि आयो भने वाणिज्य बैंक समूहमा पनि १ सय ४१ अंकको सुधार भयो ।
यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५२ कम्पनीहरुको पाँच अर्ब ८३ करोड २५ लाख रुपैयाँ बराबरका ७४ लाख कित्ता शेयरहरु खरिद–बिक्री भए ।
गत साता पनि १ सय ५२ कम्पनीहरुकै पाँच अर्ब सात करोड सात लाख रुपैयाँ बराबरका ७३ लाख कित्ता शेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा १ ५ प्रतिशतले बढी हो ।
यो साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक एवं कारोबार भएको शेयर संख्या र कारोबार संख्याको आधारमा बैंक अफ काठमाडौं लुम्बिनी अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा एभरेस्ट बैंकलाई शिखर इन्स्योरेन्स कम्पनी, बैंक अफ काठमाडौं लुम्बिनी, सिद्धार्थ बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।





प्रतिक्रिया दिनुहोस्