२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


बार्सिलोना र रियल मड्रिडले बराबरी खेले, रामोस र स्वारेजले गरे गोल


0
Shares

काठमाडौं, मंसिर १९ । स्पेनिस ला लिगा अन्तर्गत यस सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले बार्सिलोनालई १–१ को बराबरीमा रोकेको हो ।

खेलमा बार्सिलोनाले अग्रता लिएपनि त्यो टिकाउन सकेन । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५३ औं मिनेमा नेइमारको फ्रि किकलाई लुइस स्वारेजले हेड मार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको अन्तिम समयसम्म बार्सिलोनाले रियल मड्रिडलाई गोल गर्नबाट रोकेको थियो । तर ९० औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

रामोसले लुका मोड्रिकको फ्रि किकलाई हेडमार्फत गोल गरेका हुन् । रामोसको गोलअघि क्रिष्टियानो रोनाल्डोले गोल गर्ने सुन्दर मौका बनाए पनि सफल भने हुन सकेनन् ।

बराबरीपछि लिग लिडर रियल मड्रिडले बार्सिलोनासँग ६ अंकको दूरी कायम राखेको छ । रियलको १४ खेलबाट ३४ तथा दोस्रो स्थानको बार्सिलोनाको समान १४ खेलबाट २८ अंक छ ।

रामोसले अन्तिम समयको गोलबाट रियलको अपराजित यात्रा ३३ खेलमा पुर्‍याए । बार्सिलोना लिगका पछिल्ला तीन खेलमा जितविहीन छ ।

ला लिगा अन्तर्गत राति भएका अरु खेलमा एथ्लेटिको मड्रिड स्पानियोलसँग तथा भिल्लारियल लेगानेससँग गोलरहित बराबरीमा रोकियो । यस्तै ग्रानाडाले सेभिल्लालाई २–१ ले हरायो ।