
-रविन भट्टराई/ईमेज
झापा । चैत महिना लागेसँगै झापामा चैते धान रोपाइँको चटारो सुरु भएको छ ।
जिल्लाको शिवसताक्षी, गौरादह, कमल, गौरीगञ्जलगायतका क्षेत्रमा सिँचाइ आयोजना पुगेपछि चैते धान रोप्ने किसानले राहत महसुस गरेका छन् ।
झापाका अन्य क्षेत्रमा सिँचाइ सुविधा नहुँदा धान रोपाइँको काम प्रभावित भए पनि दक्षिणी क्षेत्रमा कनकाई नहर सिँचाइ आयोजना सम्पन्न भएपछि धान रोप्न सहज भएको छ ।
पहिले पहिले सुकेरा टाट पल्टने खेतहरु अहिले पानीले भरिएका देखिन्छन् ।
धान रोप्ने सिजन सुरु भइसकेकाले झिसमिसे उज्यालोमै किसानहरु खेतमा पुगिसकेका हुन्छन् । सिँचाइको व्यवस्थापनका कारण धान उत्पादनमा वृद्धि हुने अपेक्षामा उनीहरु उत्साहित छन् ।
शिवसताक्षीका अधिकांश क्षेत्रमा यस पटक चैते धान रोपाइँका लागि पानी दिने सूचना जारी भएपछि कृषकहरु उत्साहित भएका थिए ।
कनकाइ नहर आयोजनाले एक वर्ष एउटा क्षेत्रमा र अर्को वर्षमा अर्को क्षेत्रका कृषकलाई सिँचाइको व्यवस्था मिलाएको कन्काई सिँचाइ व्यवस्थापन डिभिजन गैंडेका प्रमुख वीरेन्द्र कुमार यादव बताउँछन् ।
नहरमा यसपटक पर्याप्त पानी आएपछि यस भेगका अधिकांश किसानलाई सहज भएको छ ।
पहिले पुछारमा रहेकाहरुलाई पानी पुग्दैनथ्यो तर यो भने सबै स्थानमा मिलाएर पानी बितरण गरेकाले चैते धान रोप्न धेरै सहज भएको छ ।
पहिले पानीकै लागि गाउँलेबीच झगडा हुने गरे पनि अहिले नहरले वर्ष छुट्याएर पानी वितरण गरेपछि सबैलाई सहज भएको किसानको भनाइ छ ।
कनकाइ नहरले भेट्ने स्थानमा ३५ सय हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुँदै आएको छ । दुई बाली खेती गर्नुपर्ने हुँदा चैते धान समयमानै रोप्नुपर्ने किसान बताउँछन् ।
जलस्रोत पर्याप्त भए पनि सही व्यवस्थापन गर्न नसक्दा अधिकांश खेतहरु बाँझै पल्टिएका छन् । यसतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्