२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


अचानक दुई देशका प्रधानमन्त्रीले दिए राजिनामा, यस्ता छन् कारण


0
Shares

काठमाडौं, मंसिर २० । इटालीमा जनमत संग्रहबाट संवैधानिक सुधारको प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री माटियो रेन्जीले राजिनामा दिएका छन् ।

पत्रकार सम्मेलन मार्फत रेन्जीले जनमत संग्रहको परिणामको जिम्मेवारी लिंदै राजिनामा दिएका हुन् ।

सांढे दुई वर्ष पदमा रहेका रेन्जीको संवैधानिक सुधारअन्तर्गत माथिल्लो सदनको अधिकार कटौति गर्दै सांसद संख्या ३ सय १५ बाट घटाएर सय पु¥याइने थियो ।

यसबाट मुलुकमा कानुन बनाउने गतिमा तिब्रता आउने उनको विश्वास थियो । तर विपक्षीहरुले भने सुधारको प्रस्ताव प्रधानमन्त्रीको थप अधिकार प्रत्यायोजन गर्नमा केन्द्रित रहेको भन्दै अभियान चलाएका थिए ।

इटालीमा पछिल्ला वर्षहरुमा आर्थिक अवस्था नकारात्मक बन्दै गएको छ । सन् १९४८ यता ६० वटा सरकार परिवर्तन भएका छन् ।

यता, न्यूजिल्याण्डका प्रधानमन्त्री जोन किले आश्चर्यजनक रुपमा राजिनामा घोषणा गरेका छन् । आठ वर्ष पदमा रहेका किले पारिवारिक कारण राजिनामा दिएको बताइएको छ ।

साप्ताहिक सम्बोधनका क्रममा प्रधानमन्त्री किले कुनै पनि कामका लागि आफ्ना सबैभन्दा नजिकहरुबाट ठूलो त्यागको आवश्यकता पर्ने भन्दै पद छाड्ने निर्णय सुनाए ।

न्यूजिल्याण्ड हेराल्डले श्रीमती ब्रोनाघको अनुरोधमा किले राजिनामा दिएको उल्लेख गरेको छ ।

उनले सन् २०१४ को सेप्टेम्बरमा सम्पन्न नेशनल पार्टीको चुनावमा तेस्रो कार्यकालका लागि पनि विजय हासिल गरेका थिए । (एजेन्सी)