
काठमाडौं, मंसिर २० । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहाल र राजदूत टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर रुपमा सहमतिको प्रयासमा लागेको जानकारी दिँदै सबै पार्टीहरु समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने विश्वास व्यक्त गरेका थिए । उनले नेपालको शान्ति प्रक्रिया र द्वन्द्वको व्यवस्थापन मौलिक भएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताए ।
भेटमा प्रधानमन्त्री दाहालले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीहरुको भविष्यबारे पनि चासो राखेका थिए ।
राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका सधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपार्ने जानकारी दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्