काठमाडौं, मंसिर २० । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्यलाई जतिसक्दो चाँडो अघि बढाउन माग गरिएको छ ।
द्रुतमार्ग निर्माण संघर्ष समिति (प्रभावित एवं लाभावित जिल्लावासी)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार भेट गरी ज्ञापनपत्र बुझाउँदै यी दुईओटै काम द्रुतगतिमा अघि बढ्न नसक्दा आयोजना प्रभावित क्षेत्रमा विकास निर्माणसमेत ठम्प भएको हुँदा यसलाई जतिसक्दो चाँडो अगाडि बढाउन आग्रह गरेको हो ।
‘२२ मिटर चौडा हुने द्रुतमार्गले ७६ किमीको दुरीमा राजधानीलाई जोड्न सक्छ । जुन अहिलेको चालु सडकभन्दा १५९ किमी कम छ भने समय पनि झन्डै सात घन्टा कम लाग्ने जनाएको छ । यी आयोजनाको निर्माणपछि श्रम, शक्ति र समयको कटौती भई वार्षिक अर्बौं रूपैयाँ राज्यकोषमा बचत हुने देखिन्छ’–ज्ञापनपत्रमा भनिएको छ ।
द्रुतमार्ग र विमानस्थलको निर्माण गर्नुपर्ने उद्देश्य बोकेर समितिले संघर्षका विभिन्न कार्यक्रमसमेत गर्दै आएको छ ।
संघर्षका कार्यक्रमअन्तर्गत् समितिको नेतृत्वमा सोमबार बिहान निजगढबाट आएका पैदलयात्री एकान्तकुनामा जम्मा भइ एकान्तकुना, जाउलाखेल, कुपन्डोल, थापाथली, सुन्धारा, रत्नपार्क, दरबारमार्ग, नक्साल हुँदै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयसम्म पैदलयात्रा गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले सरकारले पुनःनिर्माण र नवनिर्माणलाई प्राथमिकताकासाथ अघि बढाइरहेको अवस्थामा काठमाडौं–निजगढ द्रुतमार्ग र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पनि अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताए ।
‘काठमाडौं–निजगढ द्रुतमार्ग र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अघि बढाउन सम्बन्धित निकायका युवा नै सक्रियरूपमा अगाडि बढ्नु र सरकारलाई नैतिक दबाद दिनु आफैंमा सकारात्मक हो’ भन्दै उनले अब यसलाई छिट्टै सम्पन्न गर्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले सो द्रुतमार्ग निर्माणको जिम्मा विदेशीलाई दिनुभन्दा पनि नेपाल र नेपालीले आफैं सम्पन्न गर्ने बताए ।
संघर्ष समितिका संयोजक रवीराज दंगालले अत्यधिक सम्भावना र समृद्धिको आयोजना हुँदाहुँदै पनि यसको निर्माणमा देखिको ढिला–सुस्तीप्रति चिन्ता व्यक्त गरे ।
मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही र मकवानपुरलगायतका प्रभावित जिल्लाका प्रतिनिधि सहभागी रहेको संघर्ष समितिले सुरु गरेको ६ महिने संघर्षका कार्यक्रमअन्तर्गत् रिले अनशन, अन्तरक्रिया, पत्रकार सम्मेलन र प्रचार–प्रसारलगायत रहेका छन् । रासस









प्रतिक्रिया दिनुहोस्