१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


काम गर्न खोज्दा पैसा खाएको आरोप ममाथि लाग्ने गरेको छ : मन्त्री अधिकारी


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार २३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले गर्न खोजेको काममा अदालत बाधक बन्ने गरेको आरोप लगाएका छन् ।

शनिबार पर्यटन पत्रकार मञ्च पोखराले गरेको एक अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले राम्रो काम गर्न खोज्दा अदालतले रोक्ने गरेको गुनासो गरे ।

विकासका काम गर्न खोज्दा आफूमाथि पैसा खाने आरोप लाग्ने गरेको भन्दै उनले व्यक्तिगत लान्छाना लगाउने प्रवृत्तिले समृद्धि सम्भव नहुने बताए ।

‘नेपालमा पर्यटक भित्र्याउने योजना बनायो कि पैसा खाएर काम गर्न लाग्यो भन्ने आरोप ममाथि लाग्ने गरेको छ, कसरी काम गर्ने ?’–उनले भने ।

उनले अगाडि भने–‘क्यासिनो खोलौं, यसले पर्यटक बढाउने काम गर्छ भनेर प्रस्ताव गर्‍यो कि पैसा खाएर क्यासिनो खुलाउन लागेको भन्ने आरोप ममाथि लाग्छ ।’

मन्त्री अधिकारीले निजी क्षेत्रको सहयोगबिना पर्यटन प्रवद्र्धन गर्न नसकिने पनि बताए । उनले आफू पर्यटनमन्त्री भएपछि पर्यटनमा धेरै राम्रा कामहरु भएको दाबीसमेत गरे ।

तीन तहको सरकारले काम नहुनुको दोष एकले अर्कोको थाप्लोमा राखिदिने प्रवृत्ति पनि देखिएको मन्त्री अधिकारीको भनाइ थियो ।

उनले पोखरालाई ‘सेन्टर’ बनाएर नेपालगन्ज, विराटनगर, जनकपुरलगायतमा हवाई उडान सुरु गर्ने बताए । पोखराबाट चाँडै नै भारतका विभिन्न सहरलाई हवाई यात्राले जोड्ने योजना पनि उनले सुनाए ।

कार्यक्रममा नेपाल टुरिजम बोर्ड पोखराका प्रमुख सूर्य थपलिया, पूर्वसचिव किशोर थापा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वसदस्यसचिव जुद्ध गुरुङलगायतले पर्यटन व्यवसाय सन्चालनका लागि पूर्वाधारमा राज्यले जोड दिनुपर्ने बताए ।