
लहान, चैत ९ । सिरहाको छुट्टाछुट्टै स्थानमा शनिबार भएको आगलागीमा दुई बालिकासहित तीनजनाको मृत्यु भएको छ ।
धनगढीमाई नगरपालिका–१४, अमिलटारस्थित दीपक धमलाको गोठमा शनिबार साँझ आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको हो ।
आगलागीमा परी दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा र नित्यराज पोखरेलकी ७ वर्षीया छोरी ऋतु पोखरेलको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
गाईगोठमा जम्मा भएको पतकरहरु केटाकेटीले आफैंले सलाइ कोरेर आगो लगाएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । प्रहरीले भने आगलागीको कारण अझै नखुलेको जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा डेढ घन्टापछि आगो नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
यसअघि, शनिबारै बिहान सिरहाको कल्याणपुर नगरपालिका–७, भेडियो पूर्वारीटोलमा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्