गोरखा, चैत ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘विप्लव’ समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभइ संविधानविरोधी गतिविधिलाईमात्र नियन्त्रण गरेको बताएका छन् ।
गोरखामा शनिबार पत्रकारसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सरकारले ‘विप्लव’ समूहलाई वार्ताका लागि आह्वान गरेको भन्दै संविधान कार्यान्वयन हुन नदिने उसको क्रियाकलाप नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताए ।
‘प्रधानमन्त्रीले वार्तामा आउन आह्वान गर्नुभएको कुरा सन्चारमाध्यममा बाहिर आइरहेकै छ’–उनले भने–‘सरकारको आधिकारिक निर्णयमा पनि प्रतिबन्ध भनेर भनिएको छैन ।’
उनले ‘विप्लव’ समूहले जुन–जुन संविधानविरोधी क्रियाकलाप गरिरहेको छ, त्यसलाई नियन्त्रणमा लिने काममात्र सरकारले गरेको बताए ।
‘बाहिर चर्चामा आएजस्तो सरकारले वार्ता गर्न चाहेन भन्ने कुरा सत्य होइनन्’–प्रवक्ता श्रेष्ठले भने–‘सरकार वार्ता गर्न पनि तयार छ र संविधानविरोधी गतिविधि नियन्त्रण गर्न पनि ।’
प्रवक्ता श्रेष्ठले ‘विप्लव’को लक्ष्य राजनीतिक भएपनि उसको गतिविधि राजनीतिक हुन नसकेको टिप्पणी गरे ।
‘शान्तिपूर्ण बाटोबाटै समाजवादमा पुग्ने लक्ष्य हासिल गर्न सकिन्छ’–उनले भने–‘तर उहाँहरु शान्ति–सुरक्षामा खलल पुर्याउने, समाजमा अराजकता सिर्जना गर्ने उल्टो बाटोतिर लाग्नुभएको छ ।’
प्रवक्ता श्रेष्ठले ‘विप्लव’को गतिविधिले समाजवादमा पुग्ने बाटोलाई खलबल्याउने काममात्र गरेको आरोपसमेत लगाए । रासस









प्रतिक्रिया दिनुहोस्