
चितवन, मंसिर २१ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव ल्याउनुुपरेको बताएका छन् ।
पूर्वी चितवनको जयमंगलास्थित श्रीराम मन्दिरमा आयोजित श्रीमद् भागवत धान्याचल ज्ञान महायज्ञ शुभारम्भ गर्दै उनले संविधान संशोधनको पक्षमा वातावरण बनाइदिन सबैसँगै आग्रह गरे ।
प्रदेशको निर्माणले देश नटुक्रिनेमा जोड दिँदै उपप्रधानमन्त्री निधिले भने–‘७५ जिल्ला हुँदा के नेपाल टुक्रिएको छ ? भ्रममा नपर्नुहोस्, प्रदेशको निर्माणले देश टुक्रिँदैन ।’
संविधान कार्यान्वयन अहिलेको महत्वपूर्ण चुनौती भएकाले संशोधन प्रस्तावमा एकमत हुन नसके संविधान कार्यान्वयनमा भने कठिनाइ पर्ने उनले बताए ।
‘एक घरमा धेरै दाजुभाइ हुन सक्छन्, उनीहरु छुट्टिएर अंश भाग लगाउँदा परिवार विखन्डन हुँदैन । बरु, छुट्टाछुट्टै रहेर व्यवस्थित र आर्थिकरुपले समृद्धि गर्न सकिने हुँदा संशोधन प्रस्तावबाट डराउनुपर्ने अवस्था नरहेको’ उनले उल्लेख गरे ।
‘महाभारतको पाठ सुन्दा संविधान संशोधन गर्नुपर्नाको कारण बुझ्न सकिन्छ’ भन्दै उपप्रधानमन्त्री निधिले भने–‘महाभारतमा पनि ठूलो राजनीति छ, अहिले हामीले भोगेकोभन्दा बढी राजनीति त्यहाँ छ ।’
आफू हिन्दूवादी भएको भन्दै मन्त्री निधिले हिन्दूधर्मले सबै धर्मको रक्षा गर्ने हुँदा सबै धर्मका लागि सहज धर्म भएको उनले बताए ।
कार्यक्रम संयोजक भेषराज दुवाडीले ‘श्री राम मन्दिरले सन्चालन गरेको श्रीराम बैद्धिक संस्कृत गुरुकुललाई उत्तरमध्यमासम्म सन्चालनका लागि महायज्ञको आयोजना गरिएको हो’–भने ।
हाल कक्षा ६ देखि १० सम्म पढाइ भइरहेको सो गुरुकुलमा ५० जना विद्यार्थी अध्ययनरत् छन् । रासस
प्रतिक्रिया दिनुहोस्