
काठमाडौं, मंसिर २१ । रेडबुल फुटसल लिग २०७३ मा १२औं चरणका खेलहरु सकिएका छन् ।
१२औं चरणको अन्तिम दिन मंगलबार समूह ‘ए’को खेलमा ढुकु फुटसल हब र किकअफ फुटसलले ३–३ गोलको बराबरी खेलेका छन् ।
खेलमा किकअफका प्रवेश जोशीले २ गोल गरे भने रजिन पाण्डेले एक गोल गरे ।
घरेलु टोली ढुकु फुटसलका सुरज राउत, अंशु कार्की र छवी रोक्काले एक–एक गोल गरे ।
यो समूहबाट किकअफ, बानेश्वर, ढुकु र ह्वाइटहर्स फुटसल अर्को चरणमा उक्लिने निश्चित भइसकेको छ ।
मंगलबारै भएको दोस्रो खेलमा कीर्तिपुर फुटसलले सामाखुसी फुटसललाई १०–३ ले हरायो ।
यो जितपछि कीर्तिपुर फुटसल समूह ‘बी’को अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । १२ खेलबाट उसको २२ अंक भएको छ ।
समान २२ अंक जोडेको ताहाचल फुटसल गोलअन्तरको आधारमा चौथो स्थानमा झरेको छ । पाँचौ स्थानको हरिसिद्धी फुटसल पनि अर्को चरण पुग्ने होडमा छ । उसको २० अंक छ ।
रेडबुल फुटसल लिगका १३औं चरणका खेलहरु बुधबार (भोलि)देखि सुरु हुँदैछन् ।
प्रतियोगितामा सहभागी सबै १६ टोलीले समूह चरणमा १४/१४ खेल खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्