७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


लाखौं मूल्यका सालका रुख काटेर चिरान गरी तस्करी भएको खुलासा


0
Shares

सञ्जय कार्की (इमेज)
रौतहट, मंसिर २२ । रौतहटको जंगलमा दुई सातायता दर्जनौं स्थानमा चिरान सन्चालन गरिएको खुलेको छ ।

जिल्ला वन कार्यालय रौतहटको गैंडाटार इलाका वन कार्यालयको राष्ट्रिय वन–जंगलमा लाखौं मूल्यका हरिया सालका रुख काटेर चिरान गरी तस्करी भएको खुलेको छ ।

चिरान मिलझैं सन्चालन गरेर जंगलभित्रै दर्जनौं स्थानमा ठूलो परिणाममा काठ तस्करी गरेको पाइएको हो । चार महिनाअघि २० ओटा रुख यसैगरी कटान गरिएको पाइएको थियो ।

लामो समय लगाएर वनभित्रै निर्धक्क चिरान हुँदा पनि वन कार्यालय बेखबर रहेको छ ।

वन गस्ती नगर्नु र कर्मचारी नै तस्करसँग मिलेकाले वनभित्रै चिरान गरेर तस्करी भइरहेको आरोप स्थानीयले लगाएका छन् ।

जिल्ला वन कार्यालयबाट सात किलोमिटर दूरीमा रहेको वनमै हरिया सालका रुख चिरान गरिएको पाइएको छ ।

वन गस्तीमा परिचालित हुनुपर्ने जिल्ला वन कार्यालयका वन कर्मचारीले आफ्नो काममा ध्यान दिने नगरेको आरोप स्थानीयबासीको छ ।

जिल्ला वन कार्यालयको गैंडाटार, धन्सार, बृन्दावन, रंगपुर इलाका वन कार्यालयअन्तर्गतको वन–जंगलबाट एक महिनायतामात्रै एक हजारभन्दा बढी रुख फडानी भएको छ ।