
काठमाडौं, मंसिर २३ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधान गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकाले यसबाट विश्वले नै सिक्नसक्ने बताएका छन् ।
इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘संसारका अरु देशमा पनि द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्छ ।’
विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री तथा प्रतिनिधिहरुको सहभागिता रहेको सो सम्मेलनको उद्घाटन इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले बिहीबार बिहान गरेका हुन् । यस सम्मेलनको यसपटकको नारा (थिम) धर्म, प्रजातन्त्र र बहुलवाद राखिएको छ ।
शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको सङ्घर्षको उदाहरण दिँदै परराष्ट्रमन्त्री डा महतले यस सङ्घर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशील बन्न सिकाएको उल्लेख गरे ।
उनले नेपालले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको यस सङ्घर्षको परिणामस्वरुप दशकौँपछि नेपाली जनताले संविधानसभामार्फत आफैं संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्वारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको बताए ।
मन्त्री डा महतले भने, ‘हामी संसारमा नै उदाहरण दिन मिल्ने गरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसदमा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ,’ उनले भने, ‘हाल नेपालमा राष्ट्रपति, संसदमा सभामुख र प्रधानन्यायाधीशमा पनि महिला रहनुभएको छ ।’
समावेशी र सहभागितामूलक विकास प्रयासलाई नेपाल सरकारले प्राथमिकतामा राखेको र देशका महिला, गरिब तथा समाजमा विभिन्न कारणले पछि परेका समुदायका नागरिकको सशक्तीकरणका लागि आवश्यक नीति र कार्यक्रमका लागि अघि बढेको जानकारी पनि उनले दिए ।
नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहहरुका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधानको कार्यान्वयनमा थप सशक्तता आउने र दिगो विकास र देशले लिएको समावेशी र सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने धारणा पनि उनले राखे ।
सो सम्मेलनमा मन्त्री डा महतले नेपाल धार्मिक सहिष्णुता र सांस्कृतिक बहुलताको एक अद्धितीय उदारहण हो भन्दै हाम्रो देशमा हिन्दू, बौद्ध, इस्लामलगायतका अन्य धर्मबीचमा ऐतिहासिक रुपमा सहिष्णुता कायम रहिआएको स्मरण गरे ।
नेपाल सधैँ शान्तिपूर्ण सहअस्तित्व र धार्मिक तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्छ भन्दै उनले प्रजातन्त्र, कानुनी शासन, बहुलवाद र शान्तिपूर्ण सहअस्तित्वका माध्यमबाट नै अन्तर्राष्ट्रिय समुदायका बीचमा पनि सहयोग, साझेदारिता र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास रहेको बताए ।
समाजका हरेकखाले चुनौतीको समाधानका साथै नागरिकको सामाजिक न्यायका लागि समावेशी प्रजातन्त्र र धार्मिक स्वतन्त्रता एवम् सहिष्णुता सशक्त औजार हुन् भन्दै उनले नेपाल सधैँ धर्म वा अन्य कारणले हुने कुनै पनि प्रकारका आतङ्कवादको विरुद्धमा रहँदै आएको प्रतिबद्धता पनि व्यक्त गरे ।
शुक्रबारसम्म चल्ने यस सम्मेलनमा इन्डोनेसियाली राष्ट्रपति र संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानले पनि मन्तव्य राखेका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस्