
वीरगंज, मंसिर २३ । लगातार दुई दिनदेखि शीतलहरले पर्साको जनजीवन प्रभावित भएको छ । शीतलहरले तापक्रम ९ डिग्रीमा झरेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।
बिहानैदेखि लाग्ने कुहिरो र चल्ने चिसो हावाले हातखुट्टा कठ्याङ्ग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या भएको छ । बढ्दै गएको चिसोलाई छल्न चोक–चोकमा सर्वसाधारणले आगो बाल्न थालेका छन् ।
एक्कासी बढेको चिसोले अस्पतालहरुमा स्वाशप्रस्वासको समस्या भएका बिरामीको संख्या बढेको छ । बढेको चिसोका कारण श्वासलिन समस्या भएपछि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा दमका रोगी आउने संख्या बढेको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक मजोज गुप्ताले जानकारी दिए ।
चिसोले बृद्धबृद्धा र बालबालिका बढी प्रभावित छन् । बिहानैदेखि लाग्ने कुहिरोले गर्दा जिल्लामा सवारी दुर्घटनासमेत बढेकोे जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ ।
पर्सासँगै बारा, रौतहट, सर्लाही, सप्तरीमा पनि शीतलहर शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्